धमाधम सिरिज बनाउँदै निर्माता, नयाँ नाममा छैन विश्वास
नेपाली फिल्म क्षेत्रका निर्माताहरुमा नयाँ नाममा विश्वास नै हुन छाडेको देखिएको छ । नयाँ नाममा बनेका फिल्मले व्यापारिक रुपमा पनि दर्शकको साथ नपाएको देखिन्छ । कोरोना महामारीपछि रिलिज भएका फिल्ममा सिरिज बाहेक अन्य फिल्मको अवस्था कहालिलाग्दो छ । यसैले, निर्माताहरु धमाधम सिरिजकै भरमा पर्न थालेका छन् ।
‘म यस्तो गीत गाउँछु २ र ए मेरो हजुर ४’ व्यापारीक रुपमा सफल भए । यी दुबै हिट फिल्मका सिरिज हुन् । यस्तै, दर्शकले प्रतिक्षा गरेको अर्को फिल्म ‘कबड्डी ४’ पनि हिट सिरिज हो । निर्माता माधव वाग्ले नयाँ फिल्म निर्माणको तयारीमा छन् । उनले, हिट फिल्म ‘लुट’को तेश्रो सिरिज बनाउने तयारीमा लागेको बताए । अहिले कथा लेख्ने काम धमाधम भएपनि फाइनल नभएको उनको कथन छ ।
यस्तै, पुराना निर्देशक नरेश पौड्याल १६ बर्ष अघि रिलिज भएको हिट फिल्म ‘धड्कन’को सिरिज बनाउने तयारीमा छन् । मौनता श्रेष्ठले लेखिरहेको ‘धड्कन २’लाई भदौबाट छायांकनमा लैजाने तयारी नरेशको छ ।
निर्देशक विकासराज आचार्य ‘हजार जुनी सम्म’ असफल भएपछि ‘नाई नभन्नु ल ६’को तयारीमा लागेका छन् । यो सिरिजको पाँचैवटा श्रृङ्खला सुपरहिट भएको थियो । उनलाई पनि यही सिरिजको भर लागेको हुनुपर्छ ।
दीपाश्री निरौला र दीपकराज गिरीको टिमले फिल्म ‘छक्का पन्जा ४’ बनाउने तयारी गरेको छ । यो फिल्मको अघिल्ला ३ सिरिज सुपरहिट भएका थिए । नेपाली दर्शकले हिट भैसकेको फिल्मको सिरिजलाई बढी माया गरेको देखिएको छ । यसैले, पनि निर्मातालाई नयाँ नाम राखेर त्यसको ब्रान्डिङ गर्न धौ धौ पर्ने अवस्था छ । यस्तो अवस्थामा पुरानादेखि नयाँ निर्माता हिट फिल्मको सिरिजमै बढी भर पर्न थालेका छन् ।
प्रतिक्रिया