निर्वाचनमा कलाकारः हल्ला धेरै गर्ने, पछि पछुताउने
केही नेपाली कला क्षेत्रका कलाकारहरुले स्थानीय निकायको निर्वाचनमा टिकट पाए र निर्वाचनमा होमिएका छन् । कोही स्वतन्त्र रुपमा निर्वाचनमा लड्दैछन् भने कोही विभिन्न पार्टीबाट टिकट पाएर निर्वाचनमा लड्दैछन् । तर, केही कलाकारको चुनावमा हल्ला नै ठूलो भयो । चुनावमा उठ्ने भनेर हल्ला त गरे, तर पछि फेरि त्यो हल्लामै सिमित भयो ।
नायक भूवन केसीलाई स्वागत नेपालको पार्टीले काठमाडौंको मेयरमा टिकट दियो । भूवनले सकारात्मक जवाफ नदिएको भए स्वागतले सामाजिक संजालबाट नै घोषणा गर्ने थिएनन् । तर, भूवनलाई मेयरमा टिकट दिएसँगै सामाजिक संजालमा विरोध सुरु भयो । विरोधलाई नजिकबाट नियालिरहेका भूवन केसीले अन्ततः प्राविधिक कारण देखाउँदै निर्वाचनमा नउठ्ने बताए । भूवनको टिकटको हल्ला फेरि दोहोरियो ।
भूवन केसी राप्रपामा प्रवेश गर्न लागेको खबर समेत सार्वजनिक भैरहेका छन् । तर, चुनाव आउँदा राजनीतिमा प्रवेश गर्ने खबरले भूवन जहिले तरंगीत हुन्छन् । त्यसपछि, उनको तरंग फिल्म बृत्तमा फिल्मकै खबरले हुन थाल्दैछ । निर्देशक शोभित बस्नेत पनि यसपटक मेयर पदमा उठ्न लागेको खबरले चर्चामा आए । शोभितलाई लोकतान्त्रिक समाजवादी पार्टीले काठमाडौंको मेयरमा उठाउन लागेको चर्चा भयो ।
समाजवादीका बागमती प्रदेशका प्रमुख करण श्रेष्ठले त टिकट नै पाइसकेको जानकारी गराए । तर, पछि शोभितको मतदाता नामाबली महानगरमा नरहेको भन्ने थाहा भएछ । शोभितको उम्मेदवार बन्ने हल्ला पनि हल्लामै सिमित भयो ।
चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको चर्चा पनि यसपटक नभएको होइन । उनी पनि पनौतीबाट स्थानीय निर्वाचनमा उठ्न लागेको खुबै चर्चा भयो । उनले, पनौती नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने घोषणा नै गरेका थिए । तर, उम्मेदवारी दर्ता गर्नुभन्दा एक दिन अगाडि उनले हात झिके । नेकपा एमालेका स्थानीय नेताहरुले आफ्नो उम्मेदवारीलाई हल्का रुपमा लिएको भन्दै उनले उम्मेदवारी दर्ताबाट पछि हटेको बताए ।
नेपाली फिल्मका कलाकारहरुले हचुवाको भरमा चर्चा गर्छन् र पछि आफै पछुताउँछन् । पार्टीले आफूलाई स्थान दिने पक्का हो या होइन, त्यो पदका लागि म योग्य छु या छैन, जनताले विश्वास गर्छन् या गर्दैनन् भन्ने बिषयमा ख्याल नै नगरी उनीहरु यस्ता बिषयलाई अगाडि बढाइदिन्छन् । तर, पछि विभिन्न बहाना झिकेर पछि हट्ने गरेका छन् ।
प्रतिक्रिया