नीताको फिल्म ‘ह्रस्व दीर्घ’ मा भित्रिए बलिउड अभिनेता प्रदीप

अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा बलिउड अभिनेता प्रदीप राम सिंह रावत अनुबन्धित भएका छन्।

नीताले सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुक पोस्टमार्फत उक्त जानकारी गराएकी हुन्।

फेसबुकमा प्रदीप रावतलाई आफ्नो नयाँ फिल्ममा स्वागत गर्दै भनेकी छन्, ‘ह्रस्व दीर्घमा तपाईंलाई स्वागत गर्न पाउँदा हामी उत्साहित छौं।’

साउथ फिल्म अभिनय गर्दै आएका प्रदीप र नीताले भोजपुरी फिल्म ‘माही’ मा सहकार्य गरेका थिए। भोजपुरी फिल्म माहीमा काम गरेको भएकोले उनीसँग राम्रो सम्बन्ध बनेको छ। त्यसै पनि फिल्ममा काम गर्ने सहमति भएको हो,’ नीताले भनिन्। फिल्ममा अभिनेता रावतको सकारात्मक र नकारात्मक दुवै भूमिकामा देख्न सकिने नीता बताउछिन् ।

त्यस्तै फिल्ममा आधा नेपाली कलाकार र बलिउड कलाकारको अभिनय रहने नीताले जानकारी दिएकी छन्।

अभिनेता प्रदीप फिल्म ‘गजनी’ का खलनायक भनेर समेत चर्चित छन्। उनी बलिउडसँगै तेलुगू, तमिल, मलायालम र कन्नड फिल्मका पनि चर्चित रहेका छन्। उनी ‘दुश्मनी’,’देवर’,’मार्केट राजा एमबिबिएस’,’एलेक्सन’,’चाइना टाउन’, ‘सर्दार कबर्सिङ’ लगायत दर्जन बढी फिल्ममा देखा परेका छन्।

नेपाल र भारतमा छायांकन हुने बताइएको फिल्म नेपाली र हिन्दी भाषामै तयार हुनेछ । ‘ह्रस्व दीर्घ’मा यसभन्दा अघि सलोन बस्नेत अनुबन्धित भएका थिए। फिल्ममा अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीको पनि मुख्य भूमिका रहनेछ।

नीता फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्मलाई चन्द्र पन्तले निर्देशन गर्दैछन्। ८० दिनको कार्य तालिका बनाउँदै साउनबाट छायांकनमा जाने तयारी रहेको अभिनेत्री नीताले बताएकी छन्।

फिल्म नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा छायांकन हुनेछ। यस्तै बलिउडका चर्चित छायांकार कविर लालले छायांकन गर्नेछन् ।