अष्ट्रेलियाका ‘म्यूजिक लभर’ राज के गोश्वामी
वर्षमा कम्तीमा एउटा राम्रो गीत गाउने योजना बनाएका गायक राज के गोश्वामी संगीतप्रेमी दर्शकका पक्का सारथी हुन् । उनकै मध्यस्थतामा हजारौं संगीतप्रेमी दर्शकले नेपाली संगीतको स्वाद लिएका छन् ।
गीत संगीतमा लाग्दैमा सबै चर्चित हुन्छन् भन्ने हुदैन । तर, केही यस्ता संगीतप्रेमी पनि हुन्छन्, जो संगीतलाई प्रेम गर्छन्, लगाब राख्छन् तर, चर्चित हुने मोह पाल्दैनन् । आफुलाई ‘म्युजिक लभर’ का रुपमा चिनाउने राज के गोश्वामीले अहिलेसम्म म्युजिकमा उत्पात गर्छु भनेर मरिहत्ते गरेनन् । म्युजिकलाई चटक्कै छाडेका पनि छैनन् । झापामा जन्मेका राज संगीतप्रतिको लगाव सानै देखि थियो तर सिक्ने अवसर पाएका थिएनन् । एउटा उमेर पार गर्दा व्यवसायमा हात हाले । त्यति वेला उनीसँग दुइटा विकल्प थियो । आफ्नो व्यवसायमा सफल हुने कि संगीतमा लागेर चर्चित हुने । उनले व्यवसाय रोजे ।
‘म्युजिक लभर’ मै खुसी हुने योजना बनाउदै त्यसैमा सन्तुष्टी खोजे । केही नयाँ योजनाका साथ नयाँ काम गर्नुपर्छ भन्ने सोच राख्ने राज पहिल्यैदेखि ठाउँ पनि नयाँ भयो भने अझै गज्जब हुन्छ भन्ने सोच राख्थे । १४ वर्ष अघिको कुरा सुनाउँदै राज भन्छन्–‘अष्ट्रेलियाको भिषा लागेपछि उतै केही गर्ने योजना बनाएँ ।’ जति वेला उनले अष्ट्रेलियाको यात्रा तय गरे सो समयमा नेपालीका लागि विदेश यात्रा अहिलेको जस्तो सहज थिएन । अष्ट्रेलियाको भिषा लागेपछि उनले जहाजको टिकट काट्नु अगाडि ‘अरुको अंगालोमा’ बोलको गीत रेकर्ड गरे ।
विक्रम थापाको संगीत र राजको स्वर रहेको उक्त गीतको म्युजिक भिडियो पनि बन्यो । भिडियोको चर्चा राम्रै भयो । उनको उक्त गीत यो क्षेत्रमा निरन्तरताको लागि थियो । जुन गीतबाट उनले सोचे भन्दा राम्रो चर्चा पाए । जव अष्ट्रेलिया पुगे । केही संगीतप्रेमी साथीहरुसँगको जमघटले आफ्नो काम पनि गर्ने र संगीतलाई निरन्तरता दिने निर्णय गर्यो । थोरै भएपनि गीत गाउनुपर्छ भन्नेमा सिंगो टिम सहमत भयो । सुरुमा साथीभाई, अलिपछि कम्युनिटी र अष्ट्रेलियामा रहेका नेपाली समुदायका स्टेजमा पुगेका राजलाई तारिफ कमाउन समय लागेन ।
दिपेश पुन फाउण्डर रहेको ‘नेपाल टच’ भन्ने संस्थामा अभिनाष, सन्तोष गुरुङ, विश्वास श्रेष्ठ लगायतका साथीसहित राज पनि आबद्ध भए । आफुलाई जुन विषयमा लगाव छ त्यहि विषयलाई परिस्कृत बनाउने योजना अनुरुप नेपाल टचले नयाँ यात्रा सुरु गर्यो । अष्ट्रेलियामा बस्ने थुप्रै नेपाली समुदायका विचमा नेपाली कलाकारका गीत संगीत प्रस्तुत गर्ने योजना नेपाल टचले बनायो । उनीहरुका योजनाप्रति अष्ट्रेलियामा बस्दै आएका नेपाली समुदाय पनि खुसी थिए । नेपाल टचको प्रमुख उद्देश्य अष्ट्रेलियामा नेपाली गीत संगीतलाई प्रमोशन गर्ने भन्ने थियो । सन् २०१२ मा ‘गजल साँझ विथ शिव परियार’ नामक कार्यक्रम यो संस्थाले आयोजना गर्यो ।
अष्ट्रेलियाको ६ ठाउँमा लाइभ ब्याण्ड सहित कार्यक्रम प्रस्तुत गरेपछि नेपाल टचको चर्चा थप चुलियो । अध्ययन, पेशा व्यवसायका कारण मातृभुमी छाडेर हिँडेकाहरुले आफ्नै शहरमा आफ्नै गाउँको संगीत सुन्न पाएपछि खुसी नहुने कुरै भएन । पहिलो कार्यक्रम नै लाइभ ब्याण्ड गरेकाले कार्यक्रमको चर्चा निकै भयो । त्यसअघि पनि अष्ट्रेलियामा नेपाली सांगीतिक कार्यक्रम नभएका त होइन, लाइभ ब्याण्डसहित स्टेजमा कार्यक्रम गर्ने आँट जुनसुकै संस्थाले गरेका थिएनन् । लाइभ ब्याण्ड राजकै कारण सम्भव भएको थियो । किनकी उनी आफैं संगीतप्रेमी थिए भने स्टेज भनेको एउटा कलाकारका लागि मन्दिर हो भन्नेमा उनी सचेत थिए ।
त्यसपछि त नेपाल टचले क्यालेण्डर नै बनायो । हरेक वर्ष कम्तिमा एउटा गज्जबको कार्यक्रम गर्ने । शिब परिवार, सुगम पोखरेल, धर्मेन्द्र सेवान, मंगोलियन हर्ट सविन राई, सन्दिप क्षेत्री, कमल खत्री, आस्था राउत, करिष्मा मानन्धर, मेलिना राई, नेपथ्य ब्याण्डले नेपाल टचकै आँगनमा बसेर दर्शकका लागि संगीत सुनाए । नेपालमा बस्ने हरेक गायक गायिकाका लागि नेपाल टचको प्लेटफर्म एउटा आकर्षक गन्तब्य बन्न थाल्यो । जुनसुकै स्थानमा सहजै सहभागी नहुने नेपथ्य व्याण्डको आफ्नै स्टाइल छ ।
तर, नेपाल टचको आमन्त्रणमा अष्ट्रेलियामा भएको नेपथ्यको कन्सर्टको चर्चा नेपालमा पनि उत्तिकै भयो । यति धेरै चर्चा हुनुको रहस्यबारे राज भन्छन् ‘अष्ट्रेलियाको ‘बिगटप अडिटोरियम’ नेपथ्य कन्सर्ट गरेको थियौं, जहाँ तीन हजार दर्शकले कार्यक्रम हेरेका थिए ।’ तीन हजार दर्शक क्षमताको उक्त अडिटोरियम हलमा हलिउड स्तरका कार्यक्रम मात्रै हुन्थे । कार्यक्रम सकिएपछि नेपथ्यकै सदस्यहरु पनि खुसी थिए । नेपथ्यलाई लिएर कार्यक्रम गर्ने भनेपछि राज लगायत टिमले पनि राम्रै छलफल गरेको थियो । व्याण्डको प्रतिष्ठा र दर्शकको अपेक्षा दुवै बढी थियो । परम्परागत भन्दा थोरै फरक शैली अपनाएर कार्यक्रम आयोजना गरियो ।
नेपथ्य जानु अघिसम्म विभिन्न माध्यमबाट हात हातै टिकट बिक्रि गर्ने चलन थियो । नेपाल टचले नेपथ्यको कन्सर्टमा टिकट बिक्रीमा नयाँ शैलि अपनायो । टिकट अनलाइनबाट विक्री गरियो । ‘बिक्री हुने हो कि हैन । वा फेरि हात हातमै टिकट बिक्री गर्न जान पर्ने पो हो कि ?’ एकखालको चिन्ता थियो । अनलाइनमा टिकट बिक्री खुल्ला गरेको एक हप्तामै थाहा भयो । अनलाइन टिकट बिक्रिी सजिलो र भरपर्दो पनि रहेछ । एक हप्तामै ६० प्रतिशत टिकट बिक्री भएपछि आयोजक संस्था उत्साहित भएको थियो । अर्को दुई दिनमा त टिकट पुरै बिक्री भयो । टिकट सकिएपछि पनि हजार भन्दा बढि दर्शक टिकटका लागि मरिहत्ते गरिरहेको संझना राजकुमारलाई अझै पनि छ । त्यसो त नेपथ्यको कार्यक्रममा स्वदेशी मात्रै हैन विदेशी दर्शक पनि सहभागी भएका थिए ।
कतिपय विदेशी दर्शकले ‘नेपाली म्युजिक पनि क्या दामी’ भन्दै तारिफ गरेको राजलाई अझै पनि याद छ । त्यसपछि अष्ट्रेलियाकै ओलम्पिक पार्कमा नेपाल आइडल गरे । त्यो कार्यक्रम पनि उत्तिकै चर्चित भयो । विदेशमा कार्यक्रम गर्न त्यति सहज भने छैन । राज भन्छन्–‘कुनै बेला हामी आफैं पोष्टर टाँस्दै हिडेका थियौं ।’ हरेकको आ– आफ्नै काम हुने भएकाले पनि यस्ता कार्यक्रम गर्दा सबै जिम्मेवारी आफैले बहन गर्नुपर्ने राजको भनाई छ । नेपाल टचको यहि कर्मका लागि केबल दर्शक मात्रै खुसी छैनन् । वर्षौ अघि स्वदेश छाडेकाहरु अझ खुसी छन् ।
३० औ वर्षदेखी अष्ट्रेलियामा बस्दै आएका नेपाली समुदायका लागि नेपाल टच सारथी बनेर उभिएको छ । ‘अष्ट्रेलियामै हुर्किएका नेपाली पुस्ताहरु हाम्रो कार्यक्रम हेरेर असाध्यै खुसी हुनुहुन्छ ।’ राजले भने । सन् २०१० मा अष्ट्रेलिया जाने बित्तिकै गीत रेकर्ड गरेका राजका लागि त्यही समुदाय नै प्रेरणाको स्रोत बनिदियो । उनका गीत सुनेर वाह क्या दामी भन्नेहरु दिन दिनै बढ्दै थिए । यहि शब्दका कारण उनलाई गीत गायनमा प्रेरणा मिलिरहेको छ । ‘वर्षमा कम्तिमा पनि एउटा राम्रो गीत गाउने र म्युजिक भिडियो रिलिज गर्न भनेर सेड्युल बनाएँ ।’ उनले भने । एल्बम निकाल्ने ट्रेन हराइसकेको बेला सन् २०१३ मा ‘कोशिस’ नामको एल्बमै निकाले । उक्त एल्बमा रहेको ‘साँझको बेला’ बोलको गीतले उनलाई राम्रै माइलेज दियो । बिक्रम थापाको संगीत रहेको उक्त गीत त्यो बेलाको चर्चित बन्यो ।
उक्त एल्बम सफल भएपछि राजले तीन वर्ष अघि ‘कोशिस २’ निकाले । मुकुन्द किशोर भट्टराई क्रिएशन रहेको साइली र माइली पोइल गएछन्लाई नयाँ भर्सनमा गाएका थिए । कुराकानीको बिट मार्दै गर्दा कुराकानी भयो सपनाको । राजले सिधा उत्तर दिए संगीतमा राम्रो गर्ने तर, उत्पात गरौंला भन्ने कुनै सपना छैन ।
प्रतिक्रिया