काठमाडौँ महानगरपालिका मेयर: यी कलाकारको महानगरप्रमुख बन्ने दौडमा

स्थानीय तह निर्वाचन केही दिन बाँकी हुँदा काठमाडौँ महानगरपालिकाको मेयरमा उठ्ने कलाकारहरूको रहर बढेको छ । संघीय राजधानी भएकाले पनि काठमाडौं सहरप्रति धेरैको चासो रहने गर्दैछ । काठमाडौंको मेयर बन्ने आकांक्षीबीच होडबाजी समेत सुरु भएको छ । उक्त दौडमा कलाकार पनि छन् । कोहि विभिन्न पार्टीबाट त कोहि स्वतन्त्र रूपमा आफ्नो दाबेदारी दर्शाउँदै दौडधुपमा छन् ।

मानिसहरुको सहर केन्द्रीत मोह, यो सहरले दिने अवसर र देशको संघिय राजधानी भएकाले काठमाडौं महानगरको निर्वाचन विशेष हुनेगर्दछ । पुरानो नेतृत्वबाट दिक्क भएका समय सर्वासाधरण भने मेयरको आकांक्षीमा सेलिब्रेटिको चर्चा समाजिक सञ्जालमा गर्न र उनिहरुकै अन्तर्वार्ता हेर्न ब्यस्त देखिन्छन् ।

कलाकार मदनदास श्रेष्ठ, गायक तथा र्यापर बालेन शाह र पूर्वमिस नेवाः सुनिता डङ्गोल मेयर उम्मेदवारको मैदानमा आउँदैछन् । आइतबार र सोमबार सुरु हुने उम्मेदवार मनोनयनका लागि श्रेष्ठ, शाह र डंगोलले भावी मेयरका लागि उम्मेदवार दर्ता गर्न लागेका हुन् ।

श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने भएका हुन् । महानगर समितिको बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार श्रेष्ठको नाम सिफारिस गरेको जनाइएको छ । यस्तै पूर्वमिस नेवाः डङ्गोल काठमाडौँको मेयरका लागि अर्को उम्मेदवार रहेकी छिन् ।

उनले आफ्नो उम्मेदवारी घोषणा गरिसकेकी छिन् । मेयर बन्ने सपनासहित प्रचारमा लागेकी उनले राजधानीलाई सुन्दर र व्यवस्थित बनाउने सपना बाँडिरहेकी छन् । उनी भन्छिन्, “युवाको आवाज सधैँ कुण्ठित हुन्छ राजनीतिमा, त्यसैले आफैँ मेयरमा उठ्न खोजेकी हुँ ।”

यसैगरी काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनेमा बालेन शाह पनि रहेका छन् । स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३१ वर्षे शाह सङ्गीत क्षेत्रमा आबद्ध रहदै आएका छन् । (यापरका रूपमा चर्चित शाहले भने, “स्थानीय तह निर्वाचनमा राजनीतिक पार्टीबाट टिकट पाउने प्रक्रियाको विरोधी हुँ ।” हरेक छ÷छ महिनामा वडावासीको निःशुल्क स्वास्थ्य जाँच, काठमाडौँको फोहोर प्रशोधन गर्ने, खाली जमिनको उत्पादनमा जोड दिने उनको मुख्य चुनावी एजेन्डा रहेको छ ।

यस्तै अभिनेता भुवन केसीले उन्नत लोकतन्त्र पार्टीबाट आफू काठमाडौँ महानगरपालिकाको मेयर पदको उम्मेदवार घोषणा गरेका थिए तर केही दिनपछि सामाजिक सञ्जालमार्फत् अभिनेता केसीले कुनै कलाकारले महानगरको मेयर बनेर जनताको सेवा गर्छु भन्नु स्वाभाविक भएको तर कार्यव्यस्तता र प्राविधिक कारण अहिले आफू उम्मेदवार बन्न नसक्ने उल्लेख गरेका थिए ।

केही समय अघि महानायक राजेश हमालले काठमाडौंका बाटाघाटालाई ब्यङ्ग्य गर्दै मेयरमा उठ्नु पर्छ कि भन्दै दिएको अभिव्यक्तिलाई लिएर स्वागत र विरोध गर्नेहरुको पनि कमी थिएन ।  यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्देशक सोभित बस्नेतले महानगरको मेयरमा उठ्ने हल्ला फिँजाएर जुम्ला पुगेका छन् ।