वैशाख भित्र बक्स अफिस प्रणालीमा नजोडिने हल बन्द हुने

चलचित्र विकास बोर्डले वैशाख महिना भित्र बक्स अफिस प्रणालीमा नजोडिने हलहरुलाई बन्द गर्ने निर्णय गरेको छ । बोर्डका सदस्य तथा हल अनुगमन समितीका संयोजक अर्जुन कुमारले जेठ महिनादेखि कानुन अनुसार नचल्ने हलहरुलाई बन्द गर्ने निर्णय गरिएको बताए ।

बोर्डको बैठकले बक्स अफिस प्रणालीमा नजोडिएका हलहरुलाई तत्काल प्रक्रिया थाल्न पनि आग्रह गरेको छ ।

अर्जुनले भने–‘विशेषगरि, कानुनको पालना नगर्ने हललाई हामीले कारबाही गर्ने निर्णय गरेका छौं । यो महिना भित्र बक्स अफिस प्रणालीमा नआउने हलहरु जेठबाट बन्द हुन्छन् ।’

उनले, जेठबाट हल अनुगमन सुरु हुने पनि बताए । यस्तै, बक्स अफिस प्रणाली जडान गरेर पनि सही हिसाब नदिने हललाई के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने–‘हामीले कारवाही प्रक्रिया अगाडि बढाइसकेका छौं । कतिपय हलहरुले कारोबार लुकाएको पनि पाइयो । सबैलाई कारबाही हुन्छ ।’

उनका अनुसार, काठमाडौं बाहिरका हलहरुमा बक्स अफिस जडान नभएको धेरै पाइएको छ । हलहरुले अटेर गरेको खण्डमा कानुन अनुसार कारबाही गर्ने उनले चेतावनी दिए ।