स्टार बन्न नचाहने कार्म

‘सानो संसार’बाट फिल्म क्षेत्रमा प्रवेश गरेदेखि नै नायक कार्मलाई मिडिया र दर्शकले कर्मा भनेर बोलाए । उनले, पनि मिडियामा आउने नाममा कुनै पनि खालको टिप्पणी गरेनन् । तर, वैशाख २३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘षट्कोण’को पत्रकार सम्मेलनमा भने उनले आफ्नो नाम कर्मा नभएर कार्म भएको बताए । उनको भनाईमा, कार्म भनेको स्टार हो ।

तर, कार्म आफू स्टार बन्न भनेर यो क्षेत्रमा नआएको बताउँछन् । उनले भने–‘म यहाँ स्टार बन्न आएकै होइन । मलाई कलाकारिता गर्नुछ । कलाकार भएको नाताले शो अप गर्नुपर्छ भन्ने मलाई कहिले पनि लागेन । थिएटरबाट आएका कलाकारको स्वभाव यस्तै हुन्छ होला ।’

कार्मले आफूले अभिनय गर्न चाहेको फिल्म ‘षट्कोण’ जस्तो भएको बताए । भने–‘मलाई अझै पनि लभ स्टोरी फिल्मबाट नै अफर आउँछ । तर, अब लभ स्टोरीमा पनि नयाँ कथा खोज्न आवश्यक छ । होइन भने, सधै एउटा शैलीको लभ स्टोरी फिल्ममा काम गरेर अब अर्थ छैन ।’

यो फिल्ममा उनी पत्रकारको भूमिकामा छन् । पत्रकारको भूमिकामा काम गर्न पाउँदा आफूलाई रमाइलो लागेको उनले बताए । फिल्ममा खोज पत्रकारिता गर्नुपर्ने भूमिका भएकाले आफूले केही पत्रकारहरुसँग भेटेको पनि उनको भनाई थियो ।