‘घुस लिने र दिने शत्रु हुन्’ भन्दै गोकुलका विरुद्ध चुनाव लड्ने मनोजको घोषणा

निर्देशक मनोज पण्डितले पूर्व संचारमन्त्री गोकुल प्रसाद बाँस्कोटाविरुद्ध संसदीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले सामाजिक संजालमा स्टाटस लेख्दै भनेका छन्–‘घुस लिन्या र घुस दिन्या सबै देशका शत्रु हुन् भन्ने दिव्यउपदेश दिने नेपाल राष्ट्रको एकीकरणकर्ता पृथ्वीनारायण शाहको दरबार अगाडि बसेर इतिहासको स्मरण गर्दागर्दैको क्षणमा सामाजिक संजालमा अपलोड भएको माननीय गोकुल प्रसाद बाँस्कोटाको ‘७० करोड मात्रै हो र, ७० अर्ब हान्देको हो’, निजी खाइदिएको हो र ? भन्ने भाषणा हेरेपछि म भित्रको संवेदनशील नागरिकले चिच्याउँदै भन्यो, अब त अत्ती भयो । राजनीतिलाई घृणित धन्दा र उट्पट्याङ मजाक बनाउने यो राजनीतिज्ञ मेरो क्षेत्र काभ्रे २ बाट संसदीय निर्वाचनमा चुनिएर संचारमन्त्री सम्म भएको हुँदा यीनको खुलेयाम धम्कीले मेरो नागरिकतालाई गिज्याएको अनुभूति भयो र निर्णय गरेँ कि अबको संदीय निर्वाचनमा म यो असंवेदनशील राजनीतिज्ञको विरुद्ध स्वतन्त्र उम्मेदवारको रुपमा उठ्ने छु ।’

मनोजले आफ्नो उम्मेदवारी प्रचारका लागि नभएको र यसलाई त्याग पनि नगर्ने उल्लेख गरेका छन् । उनले, आत्मसम्मान जोगाउनका लागि र आफ्नो अस्तित्व वोधका लागि यो निर्णय लिनुपर्ने अवस्था आएको उल्लेख गरेका छन् । उनले लेखेका छन्–‘कतिसम्म लुट हेरेर सहने ? चुपचाप हेरेर लुट्न दिनुपनि अपराध नै हो भन्ने आत्मबोधको अनुभुती भएपछि यो अपत्यारिलिो र असम्भव जस्तो निर्णय लिन उत्प्रेरित भएको हुँ ।’

मनोजले गोकुललाई यो अवस्थामा चुनावमा कसैले पनि हराउन नसक्ने भन्दै उनलाई भन्दा पनि आफूलाई देश टाट पल्टेला कि भन्ने डर लागेको बताएका छन् । ‘सत्ताको आडमा देश लुट्ने गोकुलप्रसाद बाँस्कोटाको पराजय नै आफ्नो जित’ भएको पनि मनोजले लेखेका छन् ।

उनले, आफ्नो यो पाइलामा भ्रष्टाचार, अराजकता, असंवेदनशीलता र मालिक प्रवृत्तिबाट दिक्क भएका धेरै सचेत नागरिकको पाइला जोडिनेछ भन्ने आशा पनि व्यक्त गरेका छन् ।