भूवन र शिवको अघि राजेशले ‘महानायक’ विवादलाई हाँसोमै उडाइदिए
फिल्म ‘डाँडाको वर पीपल’ रिलिजको समयमा नायकद्धय भूवन केसी र शिव श्रेष्ठले एक अर्कालाई ‘महानायक’ घोषणा गरे । यसपछि, उनीहरुको तिक्तता नायक राजेश हमालसँग रहेको चर्चा पनि हुन थाल्यो । बुधबार फिल्म ‘ए मेरो हजुर ४’को विशेष शोमा पुगेका नेपाली फिल्म क्षेत्रका तीन महारथी नायकहरुले महानायकको चर्चालाई सहजै टारिदिए ।
पत्रकारको प्रश्नमा नायक राजेश हमालले भने–‘हैन, तपाइले यो के अचम्मको कुरा सोध्नुभयो फेरि । के भएको छ र हामीविच । तपाइले त अनौठो प्रश्न सोध्नुभयो ।’ हमालले यसो भन्दै गर्दा अर्का नायक शिव श्रेष्ठले पत्रकारले समाचारका लागि प्रश्न सोधेको जवाफ दिए ।
नायक भूवन केसीले यो बिषयमा स्पष्टिकरण दिन खोजे । भूवनले भने–‘तपाइले एकदमै सही समयमा यो कुरा उठाउनुभयो । यो कुरा स्पष्ट पार्न जरुरी पनि थियो ।’ भूवनले यसो भन्दै गर्दा राजेशले ‘स्पष्टिकरण’ दिन आवश्यक छैन भन्दै कुरा टारिदिए ।
यसपछि, भूवनले फेरि–‘हामीले एकसाथ धेरै फिल्ममा काम गरेका छौं । फिल्म क्षेत्रलाई यहाँसम्म ल्याउन हामीले सकेको मिहिनेत गरेका छौं । बजारमा हाम्रो बारेमा चलेका सबै कुराहरु गलत हुन् ।’ नायक राजेश हमालले यो बिषयमा कहिले पनि जवाफ दिएका छैनन् । तर, भूवन र शिवले भने बेलावखत यो बिषयलाई उठाउने गरेका छन् । तर, तीन नायक एकसाथ हुँदा पनि यसलाई सहजै टारिदिए ।
प्रतिक्रिया