चलचित्र विकास बोर्डलाई क्यूएफएक्सले टेरेन
नेपालको सबैभन्दा ठूलो चेनको रुपमा क्यूएफएक्सका संचालकले चलचित्र विकास बोर्डको पत्रलाई समेत वेवास्ता गरेका छन् । चलचित्र विकास बोर्डले सम्पूर्ण हल संचालकहरुलाई पत्र काट्दै मंगलबारको बैठकमा उपस्थित हुन आग्रह गरेको थियो । तर, बैठकमा अन्य हलका म्यानेजर तथा संचालकहरु पुगेपनि क्यूएफएक्सको तर्फबाट कोही पनि उपस्थित भएनन् ।
बोर्डको बैठकमा चलचित्र संघका महासचिव अशोक शर्माले क्यूएफएक्सका प्रतिनिधी कोही पनि किन आएनन् भनेर प्रश्न उठाएका थिए । सोही बैठकमा निर्माता माधव वाग्लेले, क्यूएफएक्स को हो र हामीलाई नटेर्ने भन्दै आपत्ती जनाएका थिए ।
क्यूएफएक्स चेनको शाखा देशभर विस्तार छ । यसैले, क्यूएफएक्सले दिने शोज र यसका चेनमा फिल्मले गर्ने व्यापारले निर्माताको लगानीमा ठूलो अर्थ राख्छ ।
यसैले, पनि क्यूएफएक्सले विकास बोर्डलाई समेत नमानेको हुनुपर्छ । क्यूएफएक्स हलमा नेपाली फिल्मलाई पाखा र विदेशीलाई काखा गरिएको भन्दै निर्माताहरुले पनि बारम्बार प्रश्न उठाइरहेका हुन्छन् । पत्र नै काटेर बोलाउँदा पनि क्यूएफएक्सका संचालकले वास्ता नगर्नुलाई बोर्डले कसरी लिन्छ, त्यो केही दिनमा नै थाहा हुनेछ ।
प्रतिक्रिया