‘मेरा लागि अरुले नलेखिदिएको कथा अब आफै लेख्दैछु’: प्रियंका कार्की

प्रियंका कार्कीले आधा दशक आफूलाई नेपालको नम्बर १ नायिकाको रुपमा प्रस्तुत गरिन् । प्रियंकाको फिल्ममा उनको अभिनयको चर्चा कम, उनको क्रियाकलपाको चर्चा बढी भयो । अझ, यसो भनौ न उनी गसिप क्विनको रुपमा रमाइन् ।
‘नाई नभन्नु ल, छक्का पन्जा’का सिरिजहरुमा काम गरेर उनले आफूलाई नम्बर १ त बनाइन् । तर, प्रियंका आफैले संझनयोग्य भूमिकामा आफूलाई प्रस्तुत गर्न सकिनन् । यसैले, जसरी उनी उदाइन् त्यसरी नै करिअर पनि कमजोर बनाइन् । आमा बनेपछि त प्रियंका कार्कीलाई फिल्ममा भन्दा युट्युबमा बढी देखिन्छ ।

छोरीलाई जन्म दिएपछि प्रियंकाको करिअरको दोश्रो इनिङ सुरु हुँदैछ । अब, उनलाई हिट ब्यानरका फिल्ममा रुमल्लिएर बस्ने छुट छैन । किनकी, उनले आफूलाई नै केन्द्रमा राखेर ‘सुन्तली’ नामक एउटा फिल्म खेलिन् ।

प्रियंकाले लक डाउनको समयमा ‘बसन्त’ नामक सर्ट फिल्म लेखिन् र निर्देशन पनि गरिन् । यसले उनलाई हौसला मिलेको छ । अब, जीवनको दोश्रो इनिङ सुरु गर्न लागेकी प्रियंका ‘कसैले नलेखिदिएको भूमिका आफै लेख्दै’ छिन् । जुन कथामा, महिला पात्रहरु केन्द्रमा हुनेछन् ।

प्रियंकाले भनिन्–‘फेरि अर्थपूर्ण फिल्म खेल्ने भनेर म अर्ती उपदेश पनि दिन चाहन्नँ । किनकी, छक्का पन्जा, शत्रु गते जस्ता फिल्महरुले पनि उत्कृष्ट कथा बोकेका थिए । ती फिल्महरुलाई ठूलो संख्याले रुचाएको थियो । तर, पनि अब म अरुले मेरा लागि भन्न नसकेको र लेख्न नसकेको कथा लेख्दैछु ।’

नेपाली फिल्म क्षेत्रमा धेरै कलाकारहरुले अरुको कथामा काम गर्दा आफूलाई मन परेका भूमिकामा काम गर्न पाउँदैनन् । पछि, प्रोडक्शन हाउस खोलेर उनीहरु ती सपनाहरु पुरा गर्न तर्फ लाग्छन् । प्रियंकाले पनि अब ती सपनाहरु पुरा गर्न लागेको बताएकी छिन् ।