विदेशी फिल्मको हस्तक्षेपमाथि अंकुश लगाउने बोर्ड अध्यक्षको संकेत
कोरोना महामारीपछि फिल्म क्षेत्रले विस्तारै लय समात्दै छ । तर, नेपाली फिल्म उद्योग र फिल्मले लय समात्दै गर्दा विदेशी फिल्मको हस्तक्षेपले झनै ठुलो समस्या देखिन थालेको छ । केही वितरकले विदेशी फिल्म चलाउनका लागि हदैसम्मको तल्लो कदम समेत चाल्न थालेपछि नेपाली निर्माताहरु समस्यामा देखिएका छन् ।
नेपाल सरकार र चलचित्र विकास बोर्डले यस बिषयमा गम्भिर भएर नसोच्ने हो भने नेपाली फिल्म उद्योग नै संकटमा पर्ने देखिन्छ । आइतबार, राष्ट्रपति भवन शित्तल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले विदेशी फिल्ममाथि अंकुश लगाउनेतर्फ संकेत गरे ।
उनले, नेपाली फिल्म उद्योग र फिल्मलाई संरक्षण गर्नका लागि सबैको समन्वयमा विदेशी फिल्मको वितरण र प्रदर्शनलाई व्यवस्थित बनाउनतर्फ ध्यान दिने बताए । उनले, सोझो भाषामा विदेशी फिल्ममाथि कडाई गर्ने त भनेनन्, तर घुमाउरो भाषामा नेपाली फिल्ममाथि भएको अतिक्रमण रोक्न कदम चाल्ने बताएका छन् ।
हालैमात्र, नेपाली फिल्म ‘ए मेरो हजुर ४’लाई कम शोज दिएर प्रदर्शकहरुले वितरकको दबाबमा मध्यरातमा पनि नियम उल्लंघन गर्दै विदेशी फिल्मलाई शोज उपलब्ध गराएका थिए ।
बोर्ड अध्यक्ष दाहालले नेपाली फिल्म उद्योगलाई सहज तरिकाले अगाडि बढाउन र नेपाली फिल्म निर्माताहरुको व्यवसायलाई ध्यान दिदै विदेशी फिल्म रिलिजमा केही कडाई गर्ने संकेत गरेका छन् । श्रोतका अनुसार, साउथको हिन्दी डब फिल्म ‘पुष्पा’ नेपाल भित्रिएपछि बोर्ड अध्यक्षले सूचना तथा संचार मन्त्रालयमा डब फिल्मलाई रोक्नुपर्ने भन्दै पत्र समेत पठाइसकेका छन् । बोर्ड अध्यक्षले पुरस्कार वितरण समारोहमा संचारमन्त्री र संचार सचिवको सहयोगका लागि धन्यवाद समेत दिएका थिए ।
सरकारले डब फिल्मलाई नेपालमा रिलिज गर्न नपाउने नियम ल्याउने हो भने पनि नेपाली फिल्मका निर्माताका लागि ठुलो राहत मिल्ने निश्चित छ । फिल्म क्षेत्रलाई वुझेका दयाराम दाहाल बोर्ड अध्यक्ष भएको समयमा नै केही संझनयोग्य कामहरु भएको खण्डमा फिल्म क्षेत्रका लागि उनको योगदान सधैका लागि अविष्मरणीय रहनेछ ।
प्रतिक्रिया