विकास बोर्डबाट सम्मानित लक्ष्मी, जसले छाडा अन्तरवार्ता हटाउन गरेकी थिइन् अपिल

गायिका लक्ष्मी आचार्यले चलचित्र विकास बोर्डबाट सम्मान पाइरहँदा धेरैले त उनलाई केको आधारमा अवार्ड दिइएको हो भनेर कानेखुशी गरे । लक्ष्मी तिनै गायिका हुन्, जसले कुनै समय भद्दा र छाडा अन्तरवार्ता दिएर चर्चा कमाएकी थिइन् । उनका फोटोसुटहरु अहिले पनि गुगल सर्चमा प्रशस्त भेटिन्छन् । बोल्ड फोटोसुट, छाडा अन्तरवार्ता दिएर कुनै समय युट्युबको हेडलाइन बनेकी लक्ष्मीले आइतबार बोर्डबाट सम्मान प्राप्त गरिन् । बोर्डले पनि नेपाली फिल्म क्षेत्रमा योगदान दिने अन्य गायिका नै नभए जसरी लक्ष्मीलाई सम्मानति गर्यो ।

उनै, लक्ष्मीले एक महिना अगाडि आफूले दिएका छाडा र भल्गर अन्तरवार्ता हटाइदिन मिडियासँग आग्रह गरेकी थिइन् । उनले लेखेकी थिइन्–‘मेरो जीवनमा यो नाम र प्रसिद्धी पाएकोमा म धेरै कृतज्ञ छु । मेरो संघर्षको समयमा मैले यति धेरै अन्तरवार्ता दिएको छु । तर, केही अन्तरवार्ताहरु खराब छन् र मलाई नराम्रो महशुश भैरहेको छ । मलाई थाहा छ यो गल्ती थियो । म सबै मिडियाका साथीहरुलाई उक्त अन्तरवार्ताहरु हटाइदिन आग्रह गर्दछु ।’

उनले, यसले आफूलाई भयानक महशुश भएको भन्दै मिडियाले समस्या वुझिदिने विश्वास व्यक्त गरिन् । हुनत, लक्ष्मी मात्र होइन अन्य थुप्रै कलाकार, मोडल, गायक–गायिकाहरु पनि जोशमा आएर अन्तरवार्ता दिन्छन् र पछि हटाइदिन आग्रह गर्छन् ।

छाडा अन्तरवार्ता र भल्गर फोटोसुटका कारण चर्चामा आएकी लक्ष्मीलाई बोर्डले नेपाली फिल्म क्षेत्रमा योगदान दिएको भन्दै सम्मान गर्दा, अन्य फिल्मीकर्मीलाई कसरी हजाम हुन्छ र ?