सम्मानका नाममा विकास बोर्डको मनपरी
फिल्म क्षेत्रको हक हितका लागि काम गर्लान् भनेर फिल्मीकर्मीले अपेक्षा गरेका चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल फेरि विवादमा फसेका छन् । विशेषगरि, उनले आइतबार आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दिर्घ साधना सम्मान’मा फिल्म क्षेत्रमा खासै योगदान नै नगरेका केही फिल्मीकर्मीलाई सम्मान गरेपछि विवादित बनेका हुन् ।
एउटा कुरा त, सम्मानको नाममा उनले २ दर्जन बढीलाई सम्मानित गरे । यसले, सम्मान लिनेलाई पनि खासै गर्व महशुश गराएन । अर्कोतिर, फिल्म क्षेत्रमा आउँदै गरेका र फिल्म क्षेत्रमा खासै योगदान नै नगरेकाहरुलाई पनि सम्मान प्रदान गरियो ।
‘लभ लभ लभ, आमा र चिसो मान्छे’ निर्माण गरेकी नव–निर्मात्री शर्मिला पाण्डेलाई सम्मान गर्दा धेरै फिल्मीकर्मी अचम्ममा परे । उनलाई किन र केका लागि सम्मान गरिएको भन्ने नै फिल्मीकर्मीले वुझेनन् । किनकी, उनी भन्दा फिल्म क्षेत्रमा योगदान गर्ने केही फिल्मीकर्मीहरुले राज्यबाट कुनै सम्मान नै पाएका छैनन् । तर, ३ वटा फिल्म मात्र बनाएकी यी निर्मात्रीको योगदान फिल्म क्षेत्रमा कती छ र सम्मानित गरियो भन्दै आलोचना भैरहेको छ ।
यस्तै, पाश्र्व गायिकाको रुपमा लक्ष्मी आचार्य पनि सम्मानित भइन् । नेपाली फिल्म क्षेत्रमा नाम खासै नसुनिएकी र योगदान पनि खासै नगरेकी यी गायिकालाई बोर्ड अध्यक्षले कुन स्वार्थमा सम्मानित गरेका हुन् ? राज्यले दिने सम्मान यती सस्तो बनाएपछि आउँदो बर्षबाट राष्ट्रपतिको हातबाट सम्मानित हुँदा के फिल्मीकर्मीले गर्वको महशुश गर्लान् त ?
नेपाली फिल्मलाई वुझेका भनिएका बोर्ड अध्यक्षको कामले फिल्मीकर्मीलाई सन्तुष्ट बनाउन सकेको छैन ।
प्रतिक्रिया