‘समाजको सकारात्मक रूपान्तरणमा फिल्म क्षेत्रको भूमिका महत्त्वपूर्ण’: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले समाजको सकारात्मक रूपान्तरणका लागि फिल्म क्षेत्रको भूमिका महत्त्वपूर्ण रहँदै आएको बताएकी छिन् ।

चलचित्र विकास बोर्डको आयोजनामा आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष चलचित्र तथा साधना सम्मान कार्यक्रममा राष्ट्रपति भण्डारीले देश प्रेमको भावना जागृत गर्न र सभ्य समाज निर्माणमा फिल्म क्षेत्र महत्त्वपूर्ण माध्यम भएको बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले फिल्म क्षेत्र सामाजिक यथार्थता प्रतिबिम्बित गर्ने एउटा सशक्त माध्यम पनि भएकाले जनचेतना जागृत गर्ने गरी फिल्महरू निर्माण तथा व्यवस्थापनमा बल दिनुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले नेपाल फिल्म छायाङ्कनका लागि विश्वकै आकर्षणको केन्द्र बन्न सक्ने भएकाले चलचित्र विकास बोर्डले यसतर्फ बढी जोड दिनु जरुरी रहेको बताएकी छन् ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले फिल्म क्षेत्रको व्यवसायीकरण र प्रवर्द्धनका लागि बोर्डले काम गरिरहेको बताए ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पिल्म क्षेत्रको विकासमा विशेष योगदान पुर्याउँदै आएका विभिन्न महानुभावहरूलाई सम्मानित गरिएको थियो ।

चलचित्र दीर्घ साधना सम्मानबाट नेपालकी प्रथम नायिका भुवन थापा चन्द र वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा सम्मानित भएका छन् ।

चलचित्र दीर्घ साधना सम्मानको पुरस्कार राशि ३ लाख ५१ हजार १ सय ११ रुपैयाँसहित सम्मान पत्र रहेको छ ।

सोही समारोहमा फिल्म क्षेत्रका विभिन्न महानुभावलाई राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र पुरस्कार र विशेष योगदान पुरस्कार पनि प्रदान गरिएको थियो ।

यसरी पुरस्कृत र सम्मानित हुनेहरूमा कलाकार राजेश हमाल, दीपकराज गिरी, दिपाश्री निरौला, आसबहादुर गुरुङ, दिनेश अधिकारी, शर्मिला पाण्डे, प्रवीण आचार्य, दीपेन्द्र के खनाल, शम्भु प्रधान, गौरी मल्ल, चैत्यदेवी सिंह, राजेश पायल राई, उदय सुब्बा, पुष्कर लामा, अर्जुन डङ्गोल, मदन घिमिरे, नबल खड्का, सुशील पोखरेल, राजीवविक्रम थापा, कमल राई, लक्ष्मी आचार्य, एन वि महर्जन, चिरञ्जीवी बस्नेत लगायत रहेका छन् ।