प्रदर्शकको विदेशी फिल्म मोहले निर्माता निराश

नेपाली फिल्म ‘ए मेरो हजुर ४’ हाउसफूलका साथ चल्दा चल्दै शो हटाएर साउथको हिन्दी डब फिल्मलाई दिएका प्रदर्शकहरुको व्यवहारले निरन्तर फिल्म बनाइरहेका निर्माताहरु निराश बनेका छन् । नेपाली फिल्ममाथि प्रदर्शकको यति ठूलो विभेदले आगामी दिनमा फिल्म कसरी बनाउने भन्नेमा नै उनीहरुलाई चुनौती थपिएको छ । हल खाली हुँदा नेपाली फिल्मका लागि शो दिएका छौ भनेर कुर्लने प्रदर्शकहरु ठूलो विदेशी फिल्म आउँदा देशमै अपेक्षा गरिएको स्वदेशी फिल्ममाथि निर्मम बनिदिन्छन् । यसले, निर्माताले फिल्म बनाएर कसरी चलाउने भन्ने प्रश्न उठेको छ ।

सफल फिल्मका निर्माता दीपकराज गिरीले प्रदर्शकहरुलाई नैतिकता देखाउन आग्रह गरिसकेका छन् । एक निर्मात्रीले कुराकानीका क्रममा भनिन्–‘ए मेरो हजुर ४ जस्तो ब्रान्ड बनाएको फिल्मलाई त यति गाह्रो भयो भने हामीले कसरी फिल्म बनाउने ? यहाँ त फिल्म बनाएर पनि रिलिज गर्न यति गाह्रो छ ।’

नेपाली फिल्मका सफल निर्माता तथा निर्देशक दीपेन्द्र के खनालले पनि प्रदर्शकको सौतेनी व्यवहारले टिठ लाग्न थालेको उल्लेख गरेका छन् । उनले लेखेका छन्–‘नेपाली फिल्ममा दर्शकको चाप हुँदा हुँदै पनि शो घटेको कुराले टिठ लाग्न थाल्यो । कसलाई भन्ने, कसले सुन्ने ?’

यस्तै, सफल निर्देशक निश्चल बस्नेतले लेखेका छन्–‘प्राथमिकता भन्ने शब्द खुबै सुनियो हाम्रो चलचित्र जगतमा दिग्गजहरुबाट । तर, अफसोच शब्द र बन्द मिटिङमै सिमित भयो । फेरि, अर्को मिटिङ कैले हो ? बोलाउनुहोस् है । नेपाली फिल्मलाई प्राथमिकतामा राख्नुपर्छ, भन्नुपर्छ मिलेर…यो पल्ट चै त्यो सुनेर हाँसो पनि है ?’

वैठकमा नेपाली फिल्मलाई प्राथमिकता दिएका छौ भनेर नेपाली फिल्ममाथि ठूलै भलो गरे जस्तो व्यवहार प्रदर्शकहरुले गर्ने गरेका छन् । तर, व्यवहारमा लागू नहुँदा प्रदर्शकहरुबाट निर्माता सधै नै पीडित छन् ।