‘ए मेरो हजुर ४’माथि प्रदर्शकको विभेद, के हलवालाको मन नेपाली नै छ ?
नेपाली फिल्ममाथि विदेशी फिल्म आएको समयमा प्रदर्शकले गर्ने आक्रामण, असहयोगको बिषयमा यस अगाडि बहस त भैरहेको हो । तर, वैशाख १ गते प्रदर्शकले नेपाली फिल्ममाथि विदेशी फिल्म नेपाल भित्राउने वितरकको दबाब कती ठूलो पक्षपात गर्छन् भन्ने कुरा स्पष्टसँग देखिएको छ ।
अब, प्रदर्शकहरु आगामी दिनमा जती नै सुकै स्पष्टिकरण दिएर चोखिन खोजिएपनि यसपटक स्पष्ट रुपमा उनीहरुको नियत देखिएको छ ।
शुक्रबार बिदाको दिन नपर्दा पनि विर्तामोडको क्यूएफएक्स हलमा २ शो पाएको नेपाली फिल्म ‘ए मेरो हजुर ४’ले हाउसफूलको व्यापार गरेको थियो । तर, शनिबार बिदाको दिनमा शो बढाउनुको साटो एक शो कटौती भयो । बिहान पौने ११ बजे दिइएको शो शुक्रबार बेलुका नै हाउसफूल भैसकेको थियो । तर, विर्तामोडको क्यूएफएक्सले हलमा शो थप्न कुनै मतलब नै गरेन ।
होल्ड ओभर नपुगेर फिल्मको शो घटाउनु नौलो कुरा होइन । तर, हाउसफूल दर्शक हुँदा पनि शो घटाउनुको कारण नेपाली फिल्ममाथिको हेपाहा प्रवृत्ती हो । आउँदो दिनमा हामी नेपाली फिल्मलाई माया गर्छौ भनेर कुनै प्रदर्शकले बोल्छन् भने त्यो झुटको खेती भन्दा बाहेक केही हुँदन भन्ने स्पष्ट हुन्छ । उदेकलाग्दो कुरा के छ भने, यस्तो परिस्थितीमा पनि नेपाल चलचित्र निर्माता संघले एक शब्द बोल्न सकेको छैन ।
हलले शो कटौती गरेपछि चलचित्र संघका महासचिव अशोक शर्माले स्टाटस लेख्दै भने–‘बिहिबार वैशाख १ गते प्रदर्शनमा आएको नेपाली फिल्म ‘ए मेरो हजुर ४’ देशैभर हाउसफूल हुँदा हुँदै शुक्रबार काठमाडौंका केही र काठमाडौं बाहिरका केही हलहरुले शो हटाउनुपर्ने कारण के हो जवाफ छ ति हलहरुसँग ? यसरी नै चल्ने हो भने अब आउन सक्ने आँधीबेरीको सामना गर्न तयार रहनुहोला ।’
अशोकले आपत्ती जनाउनुको कारण स्वभाविक नै थियो । यसपटक नेपाली फिल्ममाथि प्रदर्शकले गरेको अन्याय साच्चिकै दुखद छ ।
क्यूएफएक्स विर्तामोडका संचालक राजकुमार पोखरेलले कर्मचारीको गल्तीका कारण यस्तो हुन गएको भन्दै फिल्मका निर्माता सुनिलकुमार थापासँग माफी त मागिसकेका छन् । तर, नेपाली फिल्ममाथि गरिएको यो विभेदले प्रदर्शकहरुको नियत स्पष्ट भएको छ ।
अर्कोतिर, हलहरुको छाता संगठन चलचित्र संघका महासचिवले भत्र्सना मात्र गरेर हुँदैन । हलहरुलाई कारवाही गर्न सक्ने तागत र सामथ्र्य राख्न आवश्यक छ । यति गरे भने, चलचित्र संघको कार्यसमितीमा बस्नुको पनि अर्थ रहला । होइन भने, त रोएको जस्तो गर, म पिटेको जस्तो गर्छु भन्नु बाहेक अरु कुनै अर्थ रहँदैन । के साच्चिकै नेपालमै हल खोलेर बसेका प्रदर्शकहरुको मन नेपाली छ त ? यसपटक त शंका गर्ने ठाउँ प्रशस्तै देखिएको छ ।
प्रतिक्रिया