अनुसन्धानमा तानिए तीन फिल्म हल

चलचित्र विकास बोर्डले तीनवटा फिल्म हललाई कारबाहीका लागि सिफारिस गरेको छ ।

अनुमति नलिई नियम विपरित रात्री सो सञ्चालन गरेको तथा टिकट दर नै नराखी टिकट बिक्रि गरेको भन्दै काठमाडौँका तीन ठूला हललाई कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

बोर्डले बिग मुभिज, एफक्युज, बिएसआर मुभिजलाई तोकिएको समयभन्दा बढी हल खोलेको भन्दै कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय र आन्तरिक राजश्व कार्यालयलाई सिफारिस गरेको हो ।

बोर्डका अध्यक्ष दयाराम दाहालले मध्यरातमा अनुमति नलिई शो चलाउने तीनवटा हललाई कारबाहीका लागि सिफारिस गरिएको बताए । राजस्व अनुसन्धान विभाग तथा जिल्ला प्रशासन कार्यलयलाई शुक्रबार बोर्डले पत्र लेख्दै तीनै हलमाथि छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ ।

मध्यरातमा तीनै हलले साउथ इन्डियन फिल्म ‘केजीएफ च्याप्टर-२’ चलाएका थिए । तोकिएको भन्दा शो थप्न चाहेको खण्डमा चलचित्र विकास बोर्डबाट पूर्वस्वीकृति लिनुपर्छ । बिएस आर मुभिज, बिग मुभिज र एफक्युबले अनुमति नै नलिई हल सञ्चालनमा ल्याएका हुन् ।

अनुमतिविना बिहानैदेखि शो सञ्चालन गर्नुका साथै टिकट दर नै नराखी उनीहरूले तोकिएकोभन्दा बढी टिकट शुल्क लिएर बिक्रि गरेको उजुरीका आधारमा कारबाहीका लागि राजस्वलाई अनुरोध गर्ने निर्णय गरेको बोर्ड अध्यक्ष दयाराम दाहालल जानकारी दिए ।

केजीएफ च्याप्टर-२ हेर्ने दर्शकको अत्यधिक भीड भएपछि उनीहरू राति १ बजे र ३ बजेका लागि शो थप गरेका थिए । राति खोलिएको हलमा दर्शकहरू मदिरा सेवन गरेरसमेत आएका थिए । उनीहरूले मदिरा सेवन गरेर हलमा पुग्दा पनि रोक्न नसकेको, हलहरूले बिहानको शोमा छुट दिनुपर्नेमा नदिएको, सिटभन्दा बढी दर्शकलाई प्रवेश दिएकोलगायतका गुनासा बोर्डमा आएका थिए । सोही आधारमा बोर्डले कारबाही सिफारिस गरिएको अध्यक्ष दाहालले बताए ।

बक्स अफिस सञ्चालन गर्ने सम्बन्धमा कार्यविधि २०७६ ले फिल्म हलको नियमन गर्दै आएको छ । सो कार्यविधिअनुसार बक्स अफिस सञ्चालनमा रिर्पोटिङ गरे नगरेको, बक्स अफिसको सफ्टवेयरअनुसार टिकेटिङ गरे नगरेकोलगायतका विषय बोर्ड हेर्छ ।

यसरी कर छली गरेको र हलले अनियमितता गरेको पुष्टि भएमा पाइएमा राजस्वले हल बन्द गर्ने तथा ठाउँको ठाउँ जरिवाना गर्न सक्ने व्यवस्था छ । राजस्वले सामान जफत गर्ने र ५ लाख बराबरको जरिवाना तिराउन सक्ने पनि व्यवस्था रहेको दाहालको भनाई छ ।

यसका साथै अतिरिक्त टिकट बिक्री गरेको, काटिएको बिल बराबरको भ्याट रकम बोर्डमा गणना भए नभएको विषयमा भने राजश्व विभागले छानबिन गर्छ । अनुगमनको क्रममा देखिएको गल्तीका विषयमा जिल्ला प्रशासन कार्यालयले आवश्यक कारवाही अगाडि बढाउँछ । बोर्डले थप शो चलाएको विषयमा राजश्व विभागलाई र मादक पदार्थ सेवन गरी होहल्ला गरेको विषयमा अनुसन्धानका लागि जिल्ला प्रशासनलाई सिफारिस गरिएको हो ।