‘केजीएफ २’सँग तर्सिनु बेकार छ

एकैछिन, ३ बर्ष अगाडि फर्किऔं । फिल्म ‘ए मेरो हजुर ३’ रिलिज हुने तयारीमा थियो । सोही मितिमा ‘यात्रा’ नामक अर्को फिल्म पनि रिलिजको दौडधुपमा थियो ।

वितरक मनोज राठीले हिन्दी फिल्म ‘कलंक’ रिलिज गर्ने भन्दै किने । सो समयमा केही हप्ता अगाडि रिलिज हुन नपाएका अंग्रेजी फिल्म पनि रिलिजका लागि तयार भए । ८ वटा फिल्म लाइनमा थिए । निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले ‘ए मेरो हजुर ३’ रिलिज गरे ।

सुरुवाती दिनमा धेरै फिल्म हुँदा यो फिल्मले उल्लेख्य शो पाएको थिएन । तर, दर्शकले फिल्म मन पराएपछि विस्तारै शो बढ्दै गयो र फिल्मले बम्पर कारोबार गर्यो ।

ठ्याक्कै ३ बर्षपछि, अवस्था उही छ । तर, यसपटक पहिलेको जस्तो ८ वटा फिल्मसँग ‘ए मेरो हजुर ४’ जुध्नु परेको छैन । साउथको हिन्दी डब फिल्म ‘केजीएफ २’ पनि नेपालमा रिलिज हुँदैछ । फिल्मको हाइप नेपालमा मात्र होइन, विश्व बजारमा नै गर्मीलो छ । यसैले त बलिउड फिल्म ‘जर्सी’ले ‘केजीएफ २’सँग जुध्ने हिम्मत गरेन ।

यही समयमा नेपालमा राष्ट्रियताको मुद्दालाई नेपाली र विदेशी फिल्मसँगको भिडन्तमा जोडिएको छ । जुनकुरा, न त ‘म यस्तो गीत गाउँछु २ र गांगुबाई काठियावाडी’ रिलिज हुँदा उठ्यो न त ‘छक्का पन्जा ३ र जय भोले’ रिलिजको बेलामा रिलिज भएको बलिउड फिल्म ‘वार’को समयमा उठ्यो ।

हामीले भारतमा पनि फिल्म रिलिज गर्नुपर्छ भनेर हिन्दी भाषमा धमाधम फिल्म डब गरिरहेका छौं । नेपालमा विदेशी फिल्म आउँदा रोक्नुपर्छ भनेर बहस गर्दा भारतमा फिल्म रिलिज गर्नका लागि निर्माता लालयित हुनुले अर्थ राख्छ त ?

‘वालिमाई, खिलाडी, मास्टर’ जस्ता साउथ फिल्म नेपालमा रिलिज हुँदा त्यसले नेपाली मेकरलाई कुनै फरक पारेन । तर, बर्षमा एकाध रिलिज हुने ‘पुष्पा, आरआरआर, केजीएफ २’ जस्ता फिल्मको समयमा मात्र यो मुद्दा उठाएर अर्थ हुँदैन ।

हामीमा आफ्नै बिषयवस्तुमाथि विश्वास हुन जरुरी छ । ‘केजीएफ’ चल्दा विश्व बजारमा यसको क्रेज थिएन । तर, जब यो फिल्मलाई युट्युबमा दर्शकले हेरे, यसपछि मात्र यसको सिक्वेलको प्रतिक्षा भएको हो ।

हामीले चौथो सिरिजसम्म बनाएको ‘ए मेरो हजुर ४’को प्रतिक्षा पनि दर्शकलाई छ । यदि, प्रतिक्षा गराउन सकेनौ भने गल्ती ‘केजीएफ २’को होइन, हाम्रो हो ।

यसैले, फिल्मले सुखद कमाई गर्दा गर्दै पनि प्रदर्शकले ‘केजीएफ २’लाई उच्च स्थान दिए भने मुख खोल्ने र विरोध गर्ने ठाउँ रहनेछ । होइन भने, दर्शकलाई यो फिल्म हेर्नुहोस् र त्यो नहेर्नुहोस् भन्न सकिदैन । ३ सय रुपैयाँ टिकट काटेपछि कुन फिल्म हेर्ने भन्ने अधिकार दर्शकलाई हुन्छ ।

यसैले, नेपालमा ‘केजीएफ २’को मात्र बिरोध गर्नु बेकार छ । सकिन्छ, बिदेशी फिल्म रिलिजको लागि नयाँ सिस्टम नै बनाउनेतर्फ आवाज उठाउनु पर्दछ । कुनै ठूलो फिल्म आउँदा कराउने र अरु बेलामा चुप लाग्दा त्यसले अर्थ राख्दैन । बरु, सरकारलाई फिल्म नीति पारित गर्नका लागि दबाब दिन आवश्यक छ ।