फिल्मीकर्मीविच एकता कि ए…कता ?
फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रिमियरका लागि निर्मात्री तथा नायिका पूजा शर्माले आफ्ना नजिकका नायक भूवन केसी र अनमोल केसीलाई फोन गरिन् । भूवन र अनमोल दुबैले आउने पक्का गरे । तर, फिल्मको प्रिमियरमा अनमोल त परको कुरा भूवन पनि देखिएनन् । अरुको फिल्मको ट्रेलर रिलिज कार्यक्रममा समेत सुटबुट लगाएर पुग्ने भूवन फिल्मको प्रिमियरमा पुग्न चाहेनन् । यसबाट पूजा र निर्देशक सुदर्शन थापाको मन दुख्यो । पूजाले फिल्म ‘ए मेरो हजुर ४’का लागि दिल खोलेर समर्थन नगर्नुको एक कारण यो पनि हो । आफू अभिनित फिल्म ‘संझना विर्सना’को कार्यक्रममा पूजाको मुखबाट ‘केजीएफ २’को मात्र नाम निक्लनु संयोग मान्न सकिदैन ।
यो त एउटा उदाहरण मात्र हो, नेपाली फिल्मीकर्मीहरु आफूहरुविच एकता भएको बारम्बार दाबी गर्छन् । मिडियाको क्यामेरा अगाडि अरुको प्रशंसा गर्न दिल खोलेर समय खर्चने फिल्मीकर्मी क्यामेरा पछाडि कुरा काट्न माहिर छन् ।
नायिका पूजा शर्माले यो संवाददातासँग बारम्बार कुरा गर्दा फिल्म क्षेत्रमा एकता नभएको र आफ्नो फिल्म सफल हुँदा एक जनाले पनि वधाई सन्देश नपठाएको गुनासो गरेकी थिइन् ।
नायिका आँचल शर्माले केही समय अगाडि यो संवाददातासँग कुरा गर्दा नेपाली फिल्म क्षेत्रमा एकले अर्काको अस्तित्व नै स्विकार गर्न नसकेको गुनासो गरिन् । उनले भनिन्–‘हाम्रा कलाकारहरु बलिउड फिल्मका नायिकाको जन्मदिन वा बिहेमा बधाई दिन तछाडमछाड गर्छन् । तर, मेरो बिहे र बर्थडेमा मैले कसैबाट पनि शुभकामना पाउँदिनँ ।’
अब, आँचलले अरुको बर्थ डेमा शुभकामना दिन्छिन् या दिन्नन्, यो उनले नै जान्ने कुरा भयो ।
अहिले ‘ए मेरो हजुर ४’ रिलिजको समयमा एक पटक फेरि फिल्मीकर्मीविच एकता, राष्ट्रियता र आफ्नोपनको नारा चर्किएको छ । तर, सामाजिक संजालमा देखिने यी नारा र भनाइहरु वास्तवमै लागू भएका छन् कि अगाडि मात्र ठिक्क पारिएको हो, वुझ्न सकिदैन ।
केही बर्ष अगाडि एक जना चर्चित नायिकाले मसँगको कुराकानीमा अर्की एक प्रतिस्पर्धी नायिकाको आलोचना गरिन् । उनको रुपरंगदेखि उनको अभिनयको लामो समयसम्म आलोचना गरेकी थिइन् । तर, उनै नायिका अर्की नायिकासँग भेट्दा गाला जोड्दै माया साँटेको देख्दा यो संवाददातालाई हाँसो मात्र लाग्यो, अरु केही गर्न सकिएन ।
फिल्म ‘चपली हाइट ३’का निर्माता अर्जुन कुमारले साउथको हिन्दी डब फिल्म ‘पुष्पा’सँग अस्तित्वको लडाई लड्दै गर्दा कतिपय उनको कुरामा खिल्ली उडाउनमा व्यस्त रहे त कतिपय स्वस्तिमा खड्काको फिल्म असफल हुनुपर्छ भनेर हात धोएर लागे । यही समस्या आज ‘ए मेरो हजुर ४’ले भोग्दै गर्दा अनमोल केसीको स्टारडम अब देखिन्छ भन्दै कुर्लिएका छन् ।
नेपाली फिल्म क्षेत्रमा एकले अर्कालाई साथ दिने, समर्थन गर्ने र फिल्म चल्दा शुभकामना दिन पनि फिल्मीकर्मी पैसा चल्छ जस्तो गर्छन् । दीपिका पादुकोण र रणवीर सिंहले इटालीमा भव्य बिहे गर्दा प्रशंसा गर्दै त्यसको सिको गर्नेहरु आँचल शर्मालाई बिहे पार्टीमा उदिप श्रेष्ठले हेलिकप्टरमा ल्याउँदा ‘पैसावालासँग बिहे गरेर सान देखाएकी छ’ भन्दै आलोचना गर्न पछि पर्दैनन् ।
धुलिखेलमा शनिबार आयोजना भएको ‘१२ औं डी सिने अवार्ड’मा पुगेकी नायिका केकी अधिकारीले नेपाली फिल्मकर्मीविच एकता नभएको र अरुको अस्तित्वमा रमाउन नसकेको तर्क गरिन् । केकीले अरुको आलोचना गर्दै गर्दा कतिपय अवस्थामा आफू पनि यो रोगबाट ग्रसित भएको स्विकार गरिन् ।
नायक अनमोल केसीको फिल्म रिलिज हुँदा उनका प्रतिस्पर्धी नायकहरु प्रदीप खड्का, पल शाह, पुष्प खड्का लगायतले शेयर गरिदिने र अनमोलले पनि अन्य नायकहरुको फिल्म रिलिज हुँदा आफूले शुभकामना दिने परिपाटी बसाल्ने हो भने दर्शकमा पनि नयाँ सन्देश जाने थियो । तर, क्यामेरा अगाडि फिल्म भयंकर राम्रो भन्दै प्रशंसा गर्ने तर घर पुगेपछि झुर फिल्म भन्दै आफ्ना वरिपरीकासँग कुरा काट्ने परिपाटी हटाउन आवश्यक छ ।
पूजा शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, स्वस्तिमा खड्का, आँचल शर्मा, केकी अधिकारीहरुले एक अर्कालाई शुभकामना र वधाई दिने प्रचलन ल्याउने कहिले होला ?
फिल्म क्षेत्रमा एकता होइन, ए…कता छ ? यो दिन रहेसम्म न त दर्शकले हामीलाई विश्वास गर्छन् न त विदेशी फिल्मले आक्रामण गर्दा कोही बोलेनन् भन्दै एक्लै चिच्चाउने क्रम रोकिन्छ ?
प्रतिक्रिया