केही फरक गर्ने आकाशको चाहना

फिल्म ‘म त तिम्रै हुँ’बाट करिअर सुरुवात गर्दा नायक आकाश श्रेष्ठ आजको स्थानमा पुग्छन् भनेर कमैले मात्र सोचेका थिए । आकाश आजको दिनमा म्युजिक भिडियोका व्यस्त मोडल हुन् । तर, फिल्मको हकमा भने आकाशको करिअर सुखद अझै बन्न सकेको छैन ।

चलचित्र ‘रामकहानी र पोई पर्यो काले’को आंशिक सफलताले आकाशलाई भन्दा फिल्मकी नायिका पूजा शर्मालाई फाइदा भयो । आकाशले काम गरेका केही फिल्ममा पनि उनी चकलेटी अवतारमा देखिएका छन् । नायिकासँग रोमान्स गरिरहेको अवस्थामा आकाशलाई देख्न सकिन्छ । तर, आकाश अब आफूले केही नयाँ र फरक गर्न चाहेको बताउँछन् ।

चलचित्रमा केही नयाँ नगर्ने हो भने करिअर अगाडि बढाउन समस्या हुने उनको भनाई छ । तर, यसका लागि आकाश मात्र तयार भएर हुँदैन । आकाशलाई फरक तरिकाले प्रस्तुत गर्न सक्ने मेकरको पनि आवश्यकता पर्दछ । आकाशका अनुसार, उनी एक्सन फिल्ममा काम गर्न चाहिरहेका छन् । तर, उनलाई लभ स्टोरी फिल्मबाट नै अफर आइरहेको छ ।

आकाश अभिनित ‘संझना विर्सना र सम्हालिन्छ कहिले मन’ रिलिजको तयारीमा छन् । उनी अभिनित अर्को फिल्म ‘हिड्दा हिड्दै’को छायांकन नै सकिएको छैन ।