‘केजीएफ २’को अग्रिम बुकिङः अनमोल–मनोजको लडाई
‘केजीएफ २’ नेपाली बक्स अफिसमा चल्दा नेपाली वितरकलाई भन्दा फाइदा अरुलाई हुँदैन । तर, नेपाली फिल्म ‘ए मेरो हजुर ४’ नेपालमा चल्दा यसको तरंग सिंगो नेपाली फिल्म क्षेत्र र योसँग जोडिएका हरेक मानिसहरुलाई हुन्छ । यसैले, ‘केजीएफ २’ एक दिन पछाडि हेर्छु, फस्ट शो ‘ए मेरो हजुर ४’ नै हेर्छु भनेर दर्शकले सोच्दा फाइदा नै हुन्छ होला । तर, मल्टिप्लेक्समा फिल्मको सेन्सर नै नगरी खोलिएको बुकिङले भने नयाँ तरंग सिर्जना गरिदिएको छ । साउथको हिन्दी डब ‘केजीएफ २’को क्रेज विश्व बजारमा छ भन्ने कुरामा दुईमत छैन । यसैले, यो फिल्मलाई लिएर दर्शकमा देखिएको उत्साह नयाँ होइन ।
तर, नेपालमा फिल्मको सेन्सर नै नगरी बुकिङ खुलाउन वितरक र प्रदर्शक किन हतारिए भन्ने प्रश्न भने उठ्न सक्छ । यदि, भोली नेपालमा यो फिल्मले ‘एडल्ट वा पीजी’ सर्टिफिकेट पायो भने के होला ? यो सर्टिफिकेट पाउँदा हलसम्म पुग्न रोकिने व्यक्तिहरुले काटेका टिकट फिर्ता हुन्छन् कि हुँदैनन् ? सेन्सर नै नगरी फिल्मको बुकिङ खोलेर टिकट बेच्ने अनुमती कसले दियो ?
केही फिल्मीकर्मी मनोज राठीले नायक अनमोल केसी र निर्माता सुनिल कुमार थापालाई तर्साउन अग्रिम बुकिङ खोलेको तर्क गर्छन् । ‘ए मेरो हजुर ३’ आफैले वितरण गरेका मनोज राठी यसपटक चौथो सिरिजका लागि सबैभन्दा ठूलो प्रतिस्पर्धी बनेका छन् हुनत, नेपाली फिल्मसँग विदेशी फिल्म ल्याएर जर्बजस्ती जुधाउने र नेपाली फिल्ममाथि विदेशी फिल्मको हस्तक्षेप गराउने कुरामा राठी सबैभन्दा अगाडि छन् । आफैले वितरण गरेको ‘कृ’ फिल्ममाथि ‘प्याडम्यान’ होस् या ‘ए मेरो हजुर ३’माथि ‘कलंक’लाई भिडाउने काम उनले नै गरेका थिए । हिजोआज उनी साउथका हिन्दी डब फिल्म ल्याएर पैसा कमाउन लोभिएका छन् । राठीलाई नेपाली फिल्मको व्यापारसँग खासै मतलब पनि छैन ।
नायक अनमोल केसी, निर्माता तथा निर्देशक भूवन केसीसँग उनको खासै गतिलो सम्बन्ध छैन । ‘क्याप्टेन’ फिल्मबाट उनी र केसी परिवारको सम्बन्ध विग्रिएको हो । यसैले, कतिपयले अनमोललाई देखाइदिने धुनमा राठी लागेको टिप्पणी समेत गर्न थालेका छन् ।
तर, एउटा कुरा स्पष्ट के वुझ्न आवश्यक छ भने, एउटा विदेशी फिल्म नेपालमा चल्दा त्यसको फाइदा वितरक र चलचित्र विकास बोर्डलाई मात्र हो । तर, नेपाली फिल्म चल्दा त्यसको प्रत्यक्ष फाइदा ठूलो वर्गमा पुग्छ ।
प्रतिक्रिया