‘डी सिने अवार्ड’मा कलाकारको खडेरी, कमजोर व्यवस्थापन
शनिबार धुलिखेलमा आयोजना भएको ‘१२ औं डी सिने अवार्ड’ निक्कै फितलो रुपमा सकिएको छ । यो अवार्डको सुरुवात गर्दा यसको विश्वसनियतादेखि बलियो व्यवस्थापनले चर्चामा थियो । तर, पछिल्लो केही बर्षयता यो अवार्डमा न त कलाकार पुगेको देखिन्छ, न त आयोजकले पनि अवार्डका लागि भव्यता दिन सकेको छ ।
शनिबार भएको अवार्ड समारोह धुलिखेलको एक रिसोर्टका सानो हलमा आयोजना भयो । नेपाली फिल्मका कार्यक्रम भन्दा पनि फितलो देखिएको अवार्ड समारोहमा कलाकारको उपस्थिती पनि दयनीय नै थियो ।
नायिका केकी अधिकारी र नायक पुष्प खड्का बाहेक नोमिनेशनमा परेका अन्य कलाकारको उपस्थिती अवार्डमा देखिएन । नव–नायकको विधामा अवार्ड जितेका अंकित शर्मा, पहिलो नेपाली फिल्मकी नायिका भूवन चन्द, निर्माता तथा निर्देशक अशोक शर्मा, चलचित्रकर्मी प्रदीपकुमार उदय, निर्मात्री पूनम गौतम लगायत अवार्डमा देखिएका थिए । यस्तै, हाँस्यकलाकारद्धय केदार घिमिरे र जितु नेपाल पनि अवार्डमा पुगेका थिए ।
अवार्ड जितेकाहरु नै स्टेजमा नदेखिदा कार्यक्रम खल्लो भयो । त्यसमाथि, विच–बिचमा विजुली जादा अवार्ड झनै खल्लो देखिएको थियो ।
नेपाली फिल्मका अवार्डहरुमा चलचित्रकर्मीको उपस्थिती फितलो देखिन थालेको छ । अवार्ड आयोजकले विश्वसनियता गुमाउँदै जानु, अवार्डको बारेमा सबैलाई जानकारी नहुनु र चलचित्रकर्मीहरुमा पनि अरुको खुशीमा सहभागी हुने बानी नहुनुले अवार्डको औचित्य नै पुष्टी हुन छाडेको छ ।
प्रतिक्रिया