विमानस्थलमा कलाकार र नेताको भेट
नायक राजेश हमालले केही दिन अगाडि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरे । त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा उनीहरुविच आकस्मिक भेट भयो । हमाल र ओलीको भेटलाई कतिपयले राजनीतिक रुपमा पनि हेरे । तर, हमाल र ओली दुबै जना काठमाडौं बाहिर जाने क्रममा विमानस्थलमा आकस्मिक भेट भएको थियो । भेटमा नायिका करिश्मा मानन्धर पनि उपस्थित थिइन् । करिश्मा ओलीसँग कपिलवस्तुमा आयोजना भएको कार्यक्रममा सहभागी हुन पुगेकी थिइन् ।
त्यसको केही दिनपछि जसपाका नेता डाक्टर बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता वर्षमान पुनः र नायिका रेखा थापाको पनि विमानस्थलमै आकस्मिक भेट भयो । कुनै समय यी तिनै जना माओवादी पार्टीमा थिए । तर, अहिले तीनै जना अलग अलग भैसकेका छन् । बाबुरामले ठट्यौली शैलीमा लेखे–‘नलाउ माया दुइतिर भनेर गीत गाउनेहरु तीनतिर पो भइयो भन्ने हाँसो पनि चल्यो ।’
रेखा राप्रपा नेपालमा आवद्ध छिन् । नेपाली फिल्मका कलाकारहरु पनि राजनीतिमा सक्रिय भैरहेको समयमा उनीहरुको विभिन्न दलका नेताहरुसँग भेट भैरहेको छ । तर, कुनै राजनीतिक कार्यक्रममा भन्दा पनि विमानस्थलमा नेताहरुविच भेट भएको छ । यसअर्थमा, विमानस्थल नेता र कलाकारको भेट गराउने जक्सन बन्न थालेको छ ।
प्रतिक्रिया