पल शाहलाई थुनामा राख्न आदेश

अभिनेता पल शाह (पूर्ण विक्रम शाह)लाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । किशोरी बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका शाहलाई मुद्दाको किनारा लगाउने समयसम्म थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो ।

बुधबार न्यायाधीश अर्जुन अधिकारीको इजलासबाट शाहलाई तनहुँमै थुनामा राख्न आदेश दिएको हो । शाहलाई बुधबार नै तनहुँ पठाइएको छ । तनहुबाट आएको सुरक्षाकर्मीको टोलीले बुधबार राति ९ बजे शाहलाई तनहुँ लगेको छ । बैशाख ७ गते पुनः जिल्ला अदालत पूर्वी नवलपरासीमा हाजिर हुन भनिएको छ ।

एक वर्षअघि गैंडाकोटमा गीतको सुटिङका क्रममा अभिनेता शाहले किशोरी गायिकालाई मादक पदार्थ खुवाएर बलात्कार गरेको भन्दै अघिल्लो महिना इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जाहेरी परेको थियो ।

१४ देखि १६ वर्षकी किशोरीलाई बलात्कारको अभियोग पुष्टि भए १२ देखि १४ वर्ष कैद सजाय हुने कानूनी व्यवस्था छ । पीडित भनिएकी किशोरीको उमेर मुद्दा दर्ता गराउँदा १५ वर्ष ८ महिना ४ थियो । उनले ४ लाख नगद र अन्य क्षतिपूर्ति पाउनुपर्ने माग गरेकी छन् । त्यस्तै अर्को मुद्दामा तनहुँ अदालतको फैसलाअनुसार पुर्पक्षका लागि शाह थुनामा रहेका छन् ।

पीडित किशोरीको पक्षबाट बहस गरेका ३ जना सरकारी वकिल र २ अघिवक्ताले शाहले बलात्कार गरेको यथेस्ट प्रमाण भएको दाबी गर्दै किशोरीको मागबमोजिम १२ देखि १४ वर्ष कैद सजायको मागदाबी गरेका थिए । तीन जना सरकारी वकिलले शाहलाई हदैसम्मको सजाय हुन पर्ने माग गरेका छन् ।

तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार जिल्ला अदालत पूर्वी नवलपरासीमा ल्याएर बयान लिइएको थियो । जिल्ला प्रहरीले शाहलाई अदालतको आदेशअनुसार मुद्दा सुरुवात भएको तनहुँ प्रहरी हिरासतमा पठाइने जानकारी दियो ।