‘ए मेरो हजुर ४’को अगाडि ‘केजीएफ २’को लगानी उठाउन सहज छैन

केही दिनयता केही खबरहरु सार्वजनिक भए, जसले नेपालबाट विदेशी कलाकार र विदेशी फिल्मका लागि महंग रकमहरु कसरी बाहिरिरहेका छन् भन्ने पुष्टी हुन्छ ।
बलिउड नायक सलमान खानलाई नेपाल ल्याउनका लागि नेपाल आयोजकले करिब ५ करोड रकम खर्च गरेको खबर आयो । सलमानसँग अन्य कलाकारलाई नेपाल भित्राउन १० करोड नजिकको रकम खर्च भएको खबर आएको थियो ।

त्यसको केही दिनपछि साउथको हिन्दी डब फिल्मका लागि नेपाली वितरकले ३ करोड २० लाख रकम खर्च गरेको खबर सार्वजनिक भयो ।

‘केजीएफ २’ फिल्मका लागि ३ करोड २० लाख खर्च गरिएको हो । नेपाली फिल्मका निर्माताका लागि ५० लाख रुपैयाँ एमजी दिन पनि हात कपाउने नेपाली वितरक विदेशी फिल्ममा करोडौ रकम खर्च गर्न तयार हुन्छन् । यति मात्र होइन, नेपालमा आशा गरिएका फिल्ममाथि विदेशी फिल्म ल्याएर जुधाउने र नेपाली निर्माता छटपटीदा पार्टी गर्ने वितरकहरुको नियती नै बनेको छ । आफ्नै देशमा बसेर आफ्नै देशको फिल्ममाथि ठूलो राजनीति गर्नु कहाँसम्मको बेइमानी हो भन्ने वुझ्न आवश्यक छ ।

अप्रिल १४ बाट रिलिज हुन लागेको फिल्म ‘केजीएफ २’का लागि नेपालबाट ३ करोड २० लाख रुपैयाँ भारत भित्रिएको छ । यो मितिमा नेपाली फिल्म ‘ए मेरो हजुर ४’ पनि रिलिज हुँदैछ । देशकै सबैभन्दा धेरै आशा गरिएको नेपाली फिल्ममाथि आफूले महंगोमा भित्राएको विदेशी फिल्मको लगानी उठाउनका लागि अब वितरकले गर्ने राजनीति झनै उदेकलाग्दो हुनेछ ।

तर, यसो भन्दै गर्दा वितरक मनोज राठी र उनको टिमलाई ‘ए मेरो हजुर ४’सँगको भिडन्त सहज भने हुने छैन । किनकी, यो फिल्म पनि दर्शकको प्रतिक्षामा छ ।
३ करोड २० लाख रुपैयाँ उठाउनका लागि फिल्मले ८ करोड भन्दा बढी ग्रस कलेक्शन गर्नुपर्छ । तर, ‘ए मेरो हजुर ४’सँग पर्दा शेयर गर्दै यती रकम उठाउन वितरकलाई पनि सहज भने छैन ।

मल्टिप्लेक्स हलले ‘ए मेरो हजुर ४’लाई यसपटक कस्तो व्यवहार गर्छन्, त्यो भने सबैका लागि पर्ख र हेरको अवस्थामा छ । किनकी, आफ्नै देशमा चलेको प्रतिक्षित फिल्म भन्दा विदेशी फिल्मलाई बढी महत्व दिए भने उनीहरुमाथि पनि प्रश्न उठ्ने निश्चय नै छ । यसैले, ‘पुष्पा र आरआरआर’बाट राम्रै कमाएका वितरकका लागि ‘केजीएफ २’को लगानी भारी पर्यो भने अचम्म नमान्दा हुन्छ ।

बैशाख १ नेपाल-भारतबीच फिल्मी ‘म्याच’