पल शाहलको बयान सकियो, आज थुनछेक बहस हुने
नाबालिग किशोरी बलात्कारको अभियोगमा नवलपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएका अभिनेता पल शाहको बयान सकिएको छ ।
तनहुँ कारागार रहेका शाहलाई अघिल्लो महिना बलात्कार अरोपमा दर्ता गराएको मुद्दामा मंगलबार जिल्ला अदालत पूर्वी नवलपरासीमा ल्याएर बयान लिइएको हो ।
अदालतका इजलास अधिकारीले उनको बयान लिएका हुन् । जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीका अनुसार बुधबार शाह विरुद्धको मुद्दाको थुनछेक बहस हुनेछ ।
अभिनेता साहले एक वर्षअघि गैंडाकोटमा गीतको सुटिंकका क्रममा एक किशोरीलाई मादक पदार्थ खुवाएर बलात्कार गरेको भन्दै अघिल्लो महिना इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जाहेरी परेको थियो ।
बरिष्ठ अधिवक्ता गणेश अधिकारीका अनुसार शाहका पक्षबाट ९ वकिलले बहस गर्ने भएका छन् । सूचना अधिकारी क्षेत्रीका अनुसार जाहेरवालाको (पीडित किशोरी) पक्षबाट मंगलबार साँझसम्म कोह पनि वकिल तोकिएको छैन । पीडितका पक्षबाट वकालतनामा खुलाइएको छैन । बहस अघिसम्म वकिल राखेर पीडित पक्षले बहस गराउन सक्छन् ।
पीडितले कोही वकिल नराखे सरकारी वकिलले पीडितका पक्षमा बहस गर्ने छन् । दुवै पक्षको बहसपछि शाहलाई थानामा राखेर अनुसन्धान गर्ने, साधा तारिख वा धरौटीमा छोडेर मुद्दा चलाउने भन्ने टुंगो लाग्ने छ ।
शाहलाई चैत ५ गते किशोरीको जाहेरीका आधारमा प्रहरीले जिल्ला अदालतमा मुद्दा दर्ता गराएर अनुसन्धान थालेको हो ।
जिल्ला अदालत तनहुँले शाहलाई थुनछेक बहस सकाएर १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो । जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पल उच्च अदालत पोखरा पुगेका छन् । उच्च अदालतले निवदेन उपर पहिलो सुनवाई गर्दै तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरिसकेको छ ।
सुरुमा तनहुँ प्रहरीमा उजुरी परे पनि फेरि पलविरुद्ध नवलपुरमा पनि उजुरी परेको थियो । तनहुँ र पूर्वी नवलपरासीमा एक वर्षअघि बलात्कार गरेका अभियोग लगाउँदै मुद्दा दर्ता गराउने किशोरी एउटै हुन् ।
प्रतिक्रिया