दीपेन्द्रको निर्देशनमा ‘के घर के डेरा’ घोषणा
फिल्म ‘के घर के डेरा’को निर्माण घोषणा गरिएको छ ।
कमेडी तथा सोसल ड्रामा फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको मुख्य भूमिका रहनेछ भएको छ ।
कोरोना महामारी अघि यही शीर्षकमा फिल्म निर्माणको घोषणा गरिएपनि हाल निर्देशक र कलाकार हेरेफेर गरेर छायांकन गर्न लागिएको मंगलवार राजधानी आयोजित कार्यक्रममा निर्माण टिमले जानकारी दिएको हो ।
रंग पत्रकार सुव्रत आचार्यले निर्देशक गर्ने भनी यस अघि घोषणा गरिएको फिल्मको निर्देशन अब भने दिपेन्द्र के.खनालले गर्ने भएका छन् । निर्देशक खनालले कथावस्तु र नयाँ टिमसहित सिनेमालाई अघि बढाइएको जानकारी दिए ।
वैशाख तेस्रो सातादेखि सुरु हुने फिल्मको सम्पुर्ण छायांकन काठमाडौं उपत्यकाभित्रै गरिनेछ । निर्देशक खनालले ‘झोले’ पछि दयाहाङ, ‘पशुपति प्रसाद’पछि विपिन र ‘चंगा चेट’ पछि रविन्द्रसँग सहकार्य गर्न लागेका छन् । ‘म उहाँहरुसँग पुनः काम गर्न पाउँदा निकै उत्साहित छु,’ निर्देशक खनालले भने ।
पत्रकार सम्मेलनमा निर्देशक खनालले भने, फिल्म ‘घर भएका र घर नभएका दुवै वर्गको कथामा हास्य ढंगले फिल्म निर्माण हुनेछ ।’ अभिनेता राईले धेरै समयपछि आफ्नो फिल्म काठमाडौंमै छायांकन हुन लागेको भन्दै मनोवैज्ञानिक रुपमा आफ्नो चरित्र नयाँ भएको बताए ।
यस्तै, अभिनेता विपिन कार्कीले निर्देशक र सह कलाकारसँग काम गर्न उत्साहित रहेको बताए । निर्देशक खनाल र को-स्टारसँग सहकार्य हुनुले फिल्मको गुणस्तर राम्रो हुने कार्कीले बताएका छन् ।
शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको फिल्मलाई आगामी वर्षमा नै प्रदर्शनमा ल्याउने तयारी निर्माण टिमको रहेको छ ।
प्रतिक्रिया