सिक्किमबाट ‘ग्रहण’ निर्माणको घोषणा, मुख्य भुमिकामा विनय र नम्रता
राजीव गुरुङको निर्माण तथा निर्देशनमा नेपाली फिल्म ‘ग्रहण’ निर्माण हुने भएको छ । आइतबार फिल्मको सिक्किमस्थित गान्तोकमा सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको प्रमुख अथित्यतामा भएको कार्यक्रमका बीच निर्माण घोषणा गरियो ।
घोषणा समारोहमा फिल्मको टाइटलसँगै कलाकार समेत सार्वजनिक गरिएको छ । फिल्ममा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ, सारुक ताम्राकार लगायतको अभिनय रहनेछ । थ्रीलर ड्रामा जनरा रहने फिल्म रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण हुनेछ । फिल्मको भारतको सिक्किममा ५० प्रतिशत र नेपालमा ५० प्रतिशत छायांकन गरिनेछ ।
फिलमको घोषणा कार्यक्रममा सिक्किम फिल्म प्रोमोसन बोर्डकी अध्यक्ष पुजा शर्मा, सिक्किम मुख्यमन्त्री प्रेम सिंह तामाङका सञ्चार सचिव विकास बस्नेतसँगै निर्माता निर्मला गुरुङ, फिल्ममा अभिनय गर्ने कलाकार, निर्देशक राजीव गुरुङ, प्रोडक्सन कोऑर्डिनेटर अरुण रेग्मी, कास्टिङ डायरेक्टर सुदाम सिके लगायतको उपस्थिति रहेको थियो ।
सिक्किममा छायांकन गरिने फिल्मले दुबै देशको पर्यटनमा सघाउने मन्त्री शर्माको विश्वास छ । ‘हाम्रो कलाकारलाई देश विदेशमा चिनाउन हामी लागिरहेका छौँ । त्यही अनुरुप फिल्म बोर्ड, फिल्म नीति बनिसकेको छ । जसले हाम्रो नीति अनुसार यहाँ फिल्म छायांकन गर्छन् । उनीहरुले एक करोड रुपैयाँ पाउने छन्’ मन्त्री शर्माले भने ।
फिल्मको बारेमा बोल्दै अभिनेता विनयले ‘ग्रहण’ लभ थ्रिलर फिल्म रहेको बताए । फिलमको बारेमा बोल्दै अभिनेत्री नम्रताले होम प्रोडक्सनबाट बनेको पहिलो फिल्म ‘सोल सिस्टर्स’ले सिक्किममा छायांकन गरेको सम्झिन् । ‘मैंले आफ्नो प्रोडक्सनको सुरुवात नै यहिबाट गरे । त्यसैले सिक्किमसँग म जोडिएकी छु । फिल्ममा मेरो क्यारेक्टर एरियल योगा इन्स्टक्टरको हो । फिल्मको कथा लभ, थ्रील, ड्रामा मिश्रित भएकाले मैंले धेरै कुरा खुलाउन मिल्दैन’ नम्रताले भनिन् ।
‘सानो संसार’ रिलिजको १४ वर्षपछि विनय र नम्रताले एकसाथ स्क्रिन सेयर गर्ने भएका छन् । फिल्ममा हरी हुमागाईंको छायांकन, प्रविन श्रेष्ठको सम्पादन, बिशाल सापकोटाको पटकथा तथा संवाद र निर्देशक गुरुङ कथाको रहेको छ । अन्य कलाकार तथा प्राविधिकलाई छिट्टै छनौट गरिने निर्देशक गुरुङले बताए ।
प्रतिक्रिया