नेपाल प्रदर्शनका लागि अहिलेसम्मकै महँगो मूल्यमा ‘केजीएफः च्याप्टर २’ खरिद

वैशाख १ गते प्रदर्शन हुने दक्षिण भारतीय फिल्म यश स्टारर ‘केजीएफ’को दोस्रो श्रृंखला नेपालमा रिलिज हुने पक्का भएको छ ।

बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘केजीएफः च्याप्टर २’ भारतीय वितरक एक्सेल इन्टरटेनमेन्टले अहिलेसम्मकै महँगो मूल्यमा ३ करोड २० लाख रुपैयाँमा फिल्मको नेपाल वितरण अधिकार दिएको जनाइएको छ ।

यति महँगो मूल्यमा ब्यांकटेस इन्टरटेनमेन्ट र ए-एट फिल्म्सले नेपाल राइट खरिद गरेका हुन् । फिल्मको हिन्दी संस्करणको वितरणलाई अहिले फरहान अख्तरको कम्पनी एक्सेल इन्टरटेनमेन्टले हेरिरहेको छ । एक्सेलले नेपाली वितरकलाई प्रस्ताव गरेको उक्त मूल्य कुनै विदेशी फिल्मले मागगरेको कीर्तिमानी रकम हो ।

विदेशी फिल्मलाई तिरिएको यो नै अहिलेसम्मकै सर्वाधिक उच्च मूल्य वितरकले बताएका छन् । यसको पहिलो श्रृंखलाले नेपालमा राम्रो कमाइ गरेको थियो ।

फिल्मको मूल निर्माण कन्नड भाषामा भएपनि यसको हिन्दी डब भर्सन नेपाल आउन लागेको हो । फिल्ममा  यश, रविना टण्डन र सञ्जय दत्तको मुख्य अभिनय रहेको ‘केजीएफ च्याप्टर २’ नेपालमा समेत प्रतिक्षित छ ।

४८ लाखमा ल्याइएको भनिएको साउथ फिल्म ‘पुष्पा’ले नेपाली बक्स अफिसमा १० करोडभन्दा बढी ग्रस कमाइ गरेको थियो ।