नेपाली फिल्मीकर्मीः आफ्नो फिल्म चल्दा गुनासो, अरुको चल्दा मौन

निर्देशक झरना थापा वैशाख १ गतेबाट रिलिज हुन लागेको फिल्म ‘ए मेरो हजुर ४’को प्रचारमा व्यस्त छन् । यो फिल्मसँग साउथको प्रतिक्षित फिल्म ‘केजीएफ २’ पनि रिलिज हुने भएपछि फिल्म बजार तरंगीत छ । बक्स अफिसमा कुन फिल्मले बाजी मार्ला भन्ने अड्कलबाजी पनि चलिरहेको छ ।

तर, नायिका झरना थापाले भने नेपाली फिल्मीकर्मीले नै विदेशी फिल्मको पोष्टर शेयर गर्दै प्रशंसा गरेकोमा दुख व्यक्त गरेकी छिन् । साउथ फिल्मको अतिक्रमणमा नेपालकै ठूलो फिल्म पर्दा पनि नेपाली फिल्मीकर्मी साउथको प्रशंसामा देखिएका छन् । फिल्म प्रचारका क्रममा नायिका सुहाना थापाले नेपाली फिल्मीकर्मीविच यूनिटी नभएको गुनासो गर्दै आएकी छिन् । झरना र निर्माता सुनिल कुमार थापा फिल्म क्षेत्रबाट सहयोगको अपेक्षा गरिरहेका छन् । तर, उनीहरुले पनि भने जस्तो सहयोग पाएका छैनन् । यसैले, उनीहरु गुनासो गर्न थालेका छन् ।

नायिका पूजा शर्माले ‘म यस्तो गीत गाउँछु २’ रिलिजको समयमा नेपाली फिल्मीकर्मीबाट नै सहयोग नपाएको गुनासो गरिन् । उनले, नेपाली फिल्ममा यूनिटी नभएको तर्क गरिन् । फिल्म हिट भएपछि पनि एक जना फिल्मीकर्मीबाट पनि आफूले वधाईको सन्देश नपाएको उनको तर्क थियो ।

फिल्म ‘चपली हाइट ३’ रिलिजको समयमा निर्माता अर्जुन कुमारले ‘पुष्पा’ फिल्मको विरुद्धमा आगो ओकले । साउथको फिल्मले नेपाली फिल्म क्षेत्रलाई ध्वस्त बनाइरहेको गुनासो उनको थियो । तर, सो समयमा उनको कुरा कसैले पनि सुनेन । अर्जुन कराईरहे, अरु अर्जुनको फिल्मको असफलताको कामना गरिरहे ।

अर्जुनपछि उस्तै भोगाई, पूजा र झरनाले भोगे । तर, उनीहरु आफूले भोग्दा एक्लै गुनासो गरिरहेका छन् । नेपाली फिल्मीकर्मीमा यूनिटी देखिएको छैन । जसकाकारण, फिल्म क्षेत्रमा आइपर्ने समस्यामा जो पर्छ, उसैले मात्र भोग्नुपर्ने देखिएको छ । यसले, नेपाली फिल्मलाई त अप्ठ्यारोमा पारेको छ नै, कलाकारहरुविच पनि इगो बढिरहेको छ । मेरोमा कोही बोल्दैन भने अरुकोमा म किन बोल्नु, मैले किन साथ दिनु भन्ने भावना मौलाएको छ । जसको असर, लामो समयसम्म पर्ने पक्का छ ।

आफ्नै देशमा चलेको फिल्म विदेशी फिल्मको अगाडि निरिह हुँदा फिल्मीकर्मी खुशी मनाइरहेका हुन्छन् । उनीहरु सोच्दैनन् कि, समस्या मेरोमा पनि पर्छ । न त सरकारबाट फिल्म क्षेत्रलाई कुनै सहयोग नै भएको छ, न त फिल्मीकर्मीहरु एकले अर्कालाई सहयोग नै गर्छन् । फिल्म क्षेत्रमा यो फुटको राजनीति कहिलेसम्म चल्ने हो ? अब सोच्ने बेला आएन र ?