फिल्ममा नचलेकी आना प्रेमकै खबरले सधै चर्चामा
फिल्म क्षेत्रमा चल्नका लागि कलाकारले फिल्म पाउन पनि पर्छ र कलाकारले खेलेका फिल्म चल्न पनि पर्छ । तर, केही कलाकार त आफ्नो नीजि जीवनका कारण बढी चर्चामा रहन्छन् । उनीहरु आफूले बोलेका कुरा, लभ जीवन र पहिरनका कारण बढी चर्चामा हुन्छन् ।
नायिका आना शर्मा पनि फिल्म क्षेत्रमा यही सूचीमा पर्छिन् । जो, फिल्मका कारणले भन्दा लभका कारण बढी चर्चामा छिन् । फिल्म ‘जेरी’बाट डेब्यु गर्दा उनी नायक अनमोल केसीको प्रेममा थिइन् । अनमोल केसीसँग केही समय प्रेम गरेकी आना फिल्म चलेपछि अलग भइन् । अनमोल र आनाले प्रेम स्विकार गरेनन् । तर, बजारको चर्चा मान्ने हो भने अनमोलले आनासँग गहिरो प्रेम गरेका थिए ।
आनाले यो बिचमा ‘ग्याङस्टार ब्लूज’मा काम गरिन् । यो फिल्म सुपरफ्लप भयो । आनाको प्रेम जीवन फेरि चर्चामा आयो । आना सोनम शेर्पाको प्रेममा रमाउन थालिन् । उनीहरु डेटमा रमाएको तस्वीर सामाजिक संजालमा रंगिए ।
मिडियामा पनि आनाको व्यक्तिगत जीवन छरपष्ट भयो ।
पछि, आना र सोनमको पनि ब्रेकअप भयो । उनै, आना फेरि गायक सुशान्त केसीसँगको प्रेमका कारण चर्चामा छिन् । आना र सुशान्तले सामाजिक संजालमा विभिन्न स्थानमा रमाइरहेका तस्वीर शेयर गर्ने गरेका छन् । यो जोडी पोखरामा पुगेपछि फेरि चर्चामा छ ।
पोखराको हेम्जामा रहेको हाइग्राउन्ड एड्भेन्चरमा आना र सुशान्तले जीप लाइनमा रमाउँदै गरेको तस्वीर सार्वजनिक गरेका छन् । उनीहरु, एकसाथ रमाइरहेको तस्वीरमा देख्न सकिन्छ । सुशान्तले बनाएको एउटा म्युजिक भिडियो केही दिन अगाडि सार्वजनिक भयो । तर, भिडियोले खासै चर्चा पाएन । बरु, उनीहरुको प्रेम नै कलिउड नगरीमा चर्चामा छ ।
आनाको हातमा फिल्मको अभाव भएपनि उनको प्रेम जीवनले उनलाई मिडियामा चर्चामा ल्याइरहेको छ । तर, आनाले फिल्ममा पनि काम गर्न आवश्यक छ । होइन भने, उनलाई प्रेमकै खबरले मात्र कहिलेसम्म चर्चामा राख्ला र खै ?
प्रतिक्रिया