सुर्य कुमारीको चर्चा भएपछि करिश्माको तर्क–‘परिवर्तन संभव छ’

नायिका करिश्मा मानन्धरले आफ्नो न्वारनको नाम सूर्य कुमारी भएको बताइन् । करिश्माको यो मन्तव्यपछि सामाजिक संजालमा उनको नामलाई लिएर ट्रोल भैरहेका छन् । विशेषगरि, नेकपा एमालेको चुनाव चिन्हसँग आफ्नो नाम पनि मिलेकोतर्फ उनको तर्क थियो ।

करिश्माको न्वारनको बिषयमा चर्को चर्चा, बहस र आलोचना भएपछि उनले सामाजिक संजालबाट बारम्बार यो बिषयमा आफ्नो भनाई सार्वजनिक गरिरहेकी छिन् । करिश्माले लेखिन्–‘सूर्य कुमारी, मेरो न्वारनको नाम थाहा पाउँदा धेरैलाई पोल्यो । भिटामिन डी प्राप्त भयो । राम्रो हो ।’

त्यसको केही समयपछि करिश्माले फेरि लेखिन्–‘मलाई मेरो नामसँग लाज थियो । नेपालको राजनीतिक परिस्थितीसँग लाज थियो । तर, आज बेला आएको छ । परिवर्तन संभव भएको छ ।’

करिश्माले डाक्टर बाबुराम भट्टराइको नयाँ शक्ति पार्टीमा प्रवेश गर्दा पनि परिवर्तन संभव भएको तर्क गरेकी थिइन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग देश दौडाहामा रहेकी करिश्माले फेरि परिवर्तन संभव रहेको तर्क गर्न थालेकी छिन् ।