मिडियासँग पूजाको चित्त दुखाई

नायिका पूजा शर्माले पहिलो पटक खुलेरै मिडियासँग चित्त दुखाएकी छिन् । अर्जुन पोखरेलको निर्देशनमा तयार भएको ‘नथिया’ बोलको गीतको भिडियो रिलिज कार्यक्रममा पूजाले पत्रकार र प्रहरीलाई साथी बनाउन नहुने तर्क गरेकी छिन् । उनले, अबदेखि आफूले पत्रकार र प्रहरीलाई नजिक नबनाउने बताइन् ।

पूजा रंग पत्रकारहरुसँग नजिक रहेकी नायिका मानिन्छिन् । तर, यसपटक भने उनले रंग पत्रकारहरुसँग खुलेरै मन दुखाइन् । पूजाले कारण सुनाउँदै भनिन्–‘यहाँ, पत्रकार भएपछि जे लेखिदिए पनि हुने रहेछ । बोलेको एउटा छ, त्यसलाई अर्कै अर्थमा लेखिदिए हुने रहेछ । यसैले, पत्रकारहरुसँग मनका कुरा शेयर गर्न नहुने रहेछ भनेर मैले वुझे ।’

पूजाले आफू कस्तो छु भनेर आम पत्रकारलाई थाहा भएपनि त्यसलाई गलत अर्थमा व्याख्या हुने गरेको गुनासो गरिन् । नायिका शर्माले आफूले कुनै समय भन्न खोजेको कुरा आज अधिकांश कलाकारले भन्न थालेको पनि जिकिर गरिन् । भनिन्–‘मेरो भाष चयन गलत छ । तर, मैले गलत कुरा भन्न खोजेकी हुदिनँ । कुनै समय मैले बोलेका केही कुरालाई लिएर चर्को आलोचना भयो । मिडियाले पनि कुरा नवुझी उल्टो तरिकाले लेखिदियो । तर, अहिले सोही कुरालाई अधिकांश कलाकारले मिलाएर भनिरहेका छन् । जुन कुरा मैले पहिले नै भनिसकेको थिएँ ।’