हिन्दी भाषामै ‘आरआरआर’ले कमायो सय करोड

साउथको हिन्दी डब फिल्म ‘आरआरआर’ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । यो फिल्मले हिन्दी भाषामा नै सय करोडको आँकडा पार गरेको छ । हिन्दी भर्सनमा समेत तहलका मच्चाइरहेको फिल्मले रिलिजको पाँचौ दिनमा सय करोडको आँकडा पार गरेको हो ।

एसएस राजमौली निर्देशित फिल्मले शुक्रबार १९ करोडको ओपनिङ गरेको थियो । शनिबार फिल्मको व्यापार २४ करोडमा पुग्यो भने आइतबार फिल्मले ३१.५० करोड कमायो । सोमबार १७ करोड कमाएको फिल्मले मंगलबार सय करोडको आँकडा पार गरेको हो ।

हिन्दी भाषामा पनि साउथ फिल्मको प्रभाव परिरहेको यो व्यापारले पनि पुष्टी हुन्छ । यसअघि साउथ फिल्म ‘पुष्पा’ले बक्स अफिसमा सय करोडको आँकडा पार गरिसकेको छ । कोरोना महामारीपछि ६ वटा हिन्दी फिल्मले सय करोडको आँकडा पार गरेका छन् । जसमा, ‘सूर्यवंशी, ८३, पुष्पा, गांगुबाई काठियावाडी, द काश्मिर फाइल्स् र आरआरआर’ छन् ।

एसएस राजमौली निर्देशित फिल्म ‘आरआरआर’मा रामचरण, जुनियर एनटीआर, अजय देवगण, आलिया भट्टको मुख्य भूमिका छ ।