‘कमेडी क्लब विथ च्याम्पियन्स’: नाम मात्र फरक, विषय उही
‘कमेडी च्याम्पियन’को पहिलो सिजन जती हिट भयो, दोश्रोले अपेक्षाकृत सफलता पाउन सकेन । भरतमणी पौडेल शोमा नआएको भए सायद यसको टीआरपी अझै दयनीय हुन्थ्यो होला ।
२ शो चलेपछि निर्देशक विशाल भण्डारी र उनको टिमले नयाँ जुक्ती निकाल्यो । एकातिर, ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको अवस्था थियो भने अर्कोतिर यो ठाउँमा कुन शो ल्याउने भन्ने दबाब निर्माण कम्पनी कि लाई थियो ।
सोही समयमा दुई शोलाई मर्ज गरेर ‘कमेडी क्लब विथ च्याम्पियन्स’ प्रशारण भयो । २ भाग प्रशारण भैसकेको यो शो हेर्दा ‘कमेडी च्याम्पियन’ भन्दा खासै फरक लाग्दैन । सहभागी कमेडीयनहरुको बिषयमा आफ्नै साथीहरुलाई मजाक बनाउनु, नेता, कलाकारमाथि ब्यङ्ग्य गर्नु मात्र छ । उनीहरुले जुन तरिकाले आफूलाई ‘कमेडी क्लब’मा प्रस्तुत गरेका थिए, त्यो भन्दा खासै फरक यसमा लाग्दैन ।
फरक यत्ती हो, यसमा निर्णायक छैनन् । दीपाश्री निरौला हरेक ठाउँमा हासिदिन्छिन् । उनलाई हाँसो लागे पनि नलागे पनि हास्नुपर्छ भनेर निर्देशकले भनेको हुनुपर्छ । होइन भने, उनको हाँसो अनावश्यक ठाउँमा पनि गुञ्जिएको हुन्छ । शोमा केही अतिथीहरु पनि बोलाइन्छ र उनीहरुसँग निर्देशक विशाल भण्डारी आफै उपस्थित भएर भलाकुसारी गर्छन् ।
यसैले, २ भाग प्रशारण भैसक्दा पनि यो शोले दर्शकको उल्लेख्य साथ पाउन सकेको छैन । यहाँ, हरेक हप्ता एउटै अनुहार दोहोरीन्छन् र कस–कसलाई के के भनेर मजाक बनाउनुपर्ने हो, बनाउँछन् । कमेडी भनेको यत्ती नै होला त ? निर्देशक भण्डारीले बिषयवस्तुको बारेमा सोच्न आवश्यक छ ।
भारतीय टेलिभिजनबाट केही बर्ष अगाडि प्रशारण हुने ‘कमेडी सर्कस’बाट प्रभावित यो शो, ‘कमेडी च्याम्पियन’ भन्दा के कुराले फरक हो त, निर्माण संस्थाले दर्शकलाई वुझाउन सक्नुपर्छ ।
प्रतिक्रिया