सुहानासँग प्रेम, केजीएफ २ थ्रेट र स्टारडमको गफ

फिल्म ‘ए मेरो हजुर ३’ रिलिज भएपछि नायिका सुहाना थापा राइजिङ स्टारको रुपमा नेपाली फिल्म क्षेत्रमा उदाइन् । उनलाई बाहिरी ब्यानरका फिल्मबाट अफर आउँदा पनि काम गरिनन् । उनै, सुहाना होम प्रोडक्शनको फिल्म ‘ए मेरो हजुर ४’ लिएर बैशाख १ गते दर्शकमाझ आउँदैछिन् ।

फिल्मको बारेमा गफिने क्रममा सुहानाले आफ्नो जीवनको प्रेम प्रसंग, विदेशी फिल्मको थ्रेट र स्टारडमको बिषयमा गफ गरेकी छिन् ।

सुहाना अहिले प्रेममा छिन् । प्रेममा रहेपनि सुहानाले प्रेमीको नाम भने खुलाइनन् । तर, सुहानाले प्रेमलाई गहिरो रुपमा वुझ्न नहुने तर्क भने गरेकी छिन् । जीवनमा आफूलाई वुझ्ने, ज्ञान भएको श्रमिान् चाहिने भन्दै सुहानाले प्रेमी त आउने जाने बताइन् ।

सुहानाले वैशाख १ गतेबाट रिलिज हुन लागेको साउथको प्रतिक्षित फिल्म ‘केजीएफ २’को बिषयमा पनि खुलेर कुरा गरेकी छिन् । केही दर्शकले ‘केजीएफ २’बाट केही सिक्नुपर्ने तर्क गरेको भन्दै उनले उल्टै प्रश्न सोधिन्–‘तपाइले के सिक्नुभयो त ? साउथमा भीएफक्स झुर हुँदा पनि दर्शकले साथ दिए । यसकारण साउथ आज ९ सय करोडको फिल्म बनाउने भएको छ । यसबाट दर्शकले पनि केही सिक्नपर्छ ।’

सुहानाले ‘केजीएफ २’ आफ्नो फिल्मका लागि थ्रेट नभएको पनि दाबी गरेकी छिन् । उनले, वैशाख १ गते नेपालीहरुको नव बर्ष भएकाले गर्दा कुनै पनि विदेशी फिल्मका लागि ठाउँ छाड्न नसकिने बताइन् । उनले, अरु मेकरले पनि नेपालका महत्वपूर्ण चाडपर्वमा विदेशी फिल्म आउँदा ठाउँ छाड्न नहुने बताएकी छिन् ।

सुहाना आफूलाई स्टार नायिका भन्न रुचाउँछिन् । किनकी, उनले फिल्ममा काम गर्नका लागि संघर्ष नै गर्नु परेन । जसकाकारण, उनी स्टार नायिकाको रुपमा उदाइन् । फिल्मको टिमले नै उनलाई ‘राइजिङ स्टार’को ट्याग दिएको छ । सुहानाले यो कुरालाई स्विकार गरेकी छिन् । नेपाली फिल्मका लागि केही योगदान दिनका लागि आफू यही क्षेत्रमा होमिएको भन्दै सुहानाले नेपाली दर्शकले नेपाली फिल्मलाई साथ दिए मात्र महंगा बजेटका फिल्म बनाउन सकिनेतर्फ तर्क गरिन् ।