अस्करमा होस्टलाई थप्पड मारेका विल स्मिथले मागे माफी

‘अस्कर अवार्ड २०२२’ यसपटक चर्चामा रह्यो । यसपटक अवार्ड कसले पाए भन्ने बिषय भन्दा पनि हलिउड नायक विल स्मिथको थप्पडले बढी चर्चा पायो । स्मिथले अवार्डका होस्टलाई आफ्नी श्रीमतीको मजाक बनाएको भन्दै थप्पड हानेका थिए ।

स्मिथले यो अवार्डमा ‘किंग रिचर्ड्स’बाट उत्कृष्ट नायकको अवार्ड पाए । अवार्ड पाइसकेपछि स्टेजमा पुगेका स्मिथ भावूक देखिए । उनले, कार्यक्रमका संचालक कमेडियन क्रिस रकलाई थप्पड हानेकोमा माफी समेत मागे ।

उनले, प्रेमले पागल जस्तो व्यवहार देखाउने तर्क गरे । उनले भने–‘फिल्म किंग रिचर्डमा जुन रिचर्ड विलियम्सलाई पर्दामा उतारिएको छ, उसले आफ्नो परिवारको सुरक्षाका लागि हरसंभव कोशिश गर्छ । मेरो जिन्दगीमा पनि यस्तै भैरहेको छ । म यो समय खुशीमा रमाइरहेको छु । म पनि जिन्दगीमा आफ्ना मानिसहरुलाई प्रेम गर्न र उनीहरुको सुरक्षाका लागि हुँ । म जान्दछु कि मैले के गरिरहेको छु । मानिसहरु तपाइको बारेमा केही अचम्म लाग्दो कुरा भन्छन् भने पनि भन्न दिनुहोसु । यो क्षेत्रमा तपाइलाई अपमान र मजाक सहने हिम्मत राख्नुपर्दछ । तपाई एक मुस्कानसहित सबै कुरा ठिक भएको देखाउन सक्नुहुन्छ ।’

स्मिथले अस्कर अवार्डको आयोजकसँग पनि माफी मागेका छन् । यस्तै, उनले, आफूसँगै नोमिनेशनमा परेका सबैसँग माफी मागे ।