केपी ओली र हमालको भेटको अर्थ के हो ?

नायक राजेश हमाल राजनीतिमा प्रवेश गर्दैछन् भन्ने सुन्न थालिएको लामो समय भैसकेको छ । ५ बर्ष अगाडिको स्थानिय निर्वाचनमा पनि हमालको राजनीतिक यात्राको चर्चा भएको थियो । तर, हमालले आफूलाई राजनीतिबाट टाढा नै राखे ।

स्थानिय निकायको निर्वाचन नजिकिदै जाँदा हमालको राजनीतिक यात्राको चर्चा फेरि सुरु भएको छ । केही हप्ता अगाडि उनले काठमाडौंको मेयर पदका लागि रुची देखाएको चर्चा पनि भयो । तर, हमालले यसलाई आफूले ठट्टाको रुपमा भनेको भन्दै टारे ।

यही विचमा नायिका करिश्मा मानन्धर नेकपा एमाले पार्टीमा प्रवेश गरिन् । पार्टी अध्यक्ष केपी ओलीको हातबाट टिका लगाउँदै करिश्मा पार्टी प्रवेश गर्दा खुबै चर्चा भयो । करिश्मा एमालेमा प्रवेश गरेको केही दिनपछि नायक राजेश हमालले एमाले अध्यक्ष ओलीलाई भेटेको तस्वीरले सामाजिक संजालमा चर्चा बटुलिरहेको छ ।

ओली र हमालविच त्रिभुवन विमानस्थलमा आकस्मिक रुपमा भेट भएको हो । सो भेटमा ओलीले हमाललाई कता जाँदै हुनुहुन्छ भनेर सोधेका थिए । कपिलवस्तु जान लागेका ओलीसँग हमालको भेट कुनै योजनावद्ध भने होइन ।

भेटमा राजेशले ओलीलाई करिश्मा लगेको भन्दै ठट्टा गरेका थिए । ओलीले भने कलाकारका लागि एमाले नै मुख्य पार्टी भएको बताएका थिए ।