‘आरआरआर’को बम्पर व्यापारः एउटा निर्देशकमाथि दर्शकको विश्वास

बलिउड चलचित्र ‘आरआरआर’ले ओपनिङ कमाई आक्रामक गरेको छ । यो चलचित्रको बम्पर कमाइले गरेको संकेतबाट के स्पष्ट हुन्छ भने, दर्शक फिल्मबाट पूर्ण रुपमा मनोरञ्जन लिन चाहन्छन् । भारतीय बक्स अफिसमा मात्र फिल्मले पहिलो दिनमा १५२ करोडको ग्रस कलेक्शन गरेको छ ।

फिल्मले विश्व बजारमा पहिलो दिनमा २ सय २३ करोडको आक्रामक ओपनिङ गरेको छ । फिल्मको ओपनिङ बम्पर हुनुको पछाडि कारण के त ? यो फिल्म कुनै अभिनेताको स्टारडमले भन्दा पनि निर्देशकको क्रेजले इनिसियल व्यापार आक्रामक गर्न सफल भएको हो । फिल्म हेरिसकेपछि अभिनेताद्धय रामचरण र जुनियटर एनटीआरको चर्चा पनि भैरहेको छ ।

तर, ‘बाहुबली’ जस्तो सफल फिल्म बनाएपछि एसएस राजमौली आफैमा एउटा फिल्मको लागि ब्रान्ड बनेका छन् । दर्शकले उनको नामलाई विश्वास गरेका हुन् । उनले पनि दर्शकले गरेको विश्वासलाई कमजोर हुन दिएका छैनन् ।

फिल्मको लागि आज आइतबार पनि विश्वभरका फिल्म हलहरुको बक्स अफिस आक्रामक देखिएको छ ।

दर्शकले राजमौलीमाथि गरेको विश्वास र उनको मिहिनेतले अब उनलाई भारतीय फिल्मको एक मात्र यस्तो निर्देशक बनाइदिएको छ, जोमाथि कुनै निर्माताले महंगो रकम लगानी गर्न सक्छन् ।