के भूवन केसी राप्रपामा प्रवेश गर्दैछन् ?

स्थानीय निर्वाचन नजिकिदै गर्दा नेपाली फिल्मका कलाकारहरु विभिन्न पार्टीमा प्रवेश गर्न थालेका छन् चुनावको मुखमा कुनै पार्टीमा प्रवेश गर्ने र चुनाव सकिएपछि पार्टीमा खासै सक्रिय नहुने कलाकारहरुको पुरानै रोग हो ।
नायिका करिश्मा मानन्धर केही दिन अगाडि मात्र नेकपा एमालेमा प्रवेश गरेकी थिइन् ।

करिश्माले आफू टिकटका लागि भन्दा पनि कार्यकर्ताको रुपमा एमालेमा आएको बताइन् । नायिका रेखा थापा राप्रपा नेपाल पार्टीमा सक्रिय छिन् ।

यसैविच, फिल्म बजारमा नायक भूवन केसी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्न लागेको चर्चा चलिरहेको छ । भूवन नेकपा एमालेका कार्यकर्ता हुन् । तर, संविधान सभाको निर्वाचनमा पार्टीले काठमाडौं क्षेत्र नम्बर १ को टिकट दिएर भोलीपल्टै फिर्ता गरेपछि भने भूवन सक्रिय राजनीतिमा छैनन् ।

भूवन केसी राप्रपामा प्रवेश गर्न लागेको खबर चलिरहँदा उनले भने यो कुरालाई अस्विकार गरे । भूवनले यो बजारमा हल्ला मात्र चलेको बताएका छन् ।

भूवनले राप्रपामा प्रवेश गर्ने कुरा हल्ला मात्र हो या वास्तविकता नै हो, केही दिनमा नै थाहा हुनेछ । कि, भूवनले एमालेसँग टिकटको बार्गेनिङ गरेर राप्रपाको चेतावनी दिएका त होइनन् ?