सलमानलाई नेपाल ल्याउँदा सरकारसँग निर्मल शर्माको असन्तुष्टी

बलिउडका लोकप्रिय नायक सलमान खान जेठको १४ गते नेपाल आउँदैछन् । उनलाई नेपाल भित्राउनका लागि नेपाल सरकार नै लागिपरेको छ । पर्यटनमन्त्री प्रेम आलेले वुधबारमात्र सलमानसँग भर्चुअल संवाद गरेका छन् । सलमानलाई नेपाल भित्राउनका लागि आयोजक संस्था ओडीसी इन्टरटेन्मेन्टले करिब १० करोड पारिश्रमिकमा मात्र खर्च गरेको छ । कार्यक्रम आयोजनाका लागि अझै मोटो रकम खर्च हुँदैछ ।

सलमानलाई नेपाल ल्याउँदा पर्यटन प्रवद्र्धनमा सहयोग मिल्ने अपेक्षा सरकारको छ । तर, सलमानलाई नेपाल भित्राउन पुरै राज्य संयन्त्र नै लागिपरेको अवस्थामा कलाकार निर्मल शर्माले भने असन्तुष्टी व्यक्त गरेका छन् । उनले लेखेका छन्–‘सलमान खान मलाई मन पर्छ । उनी नेपाल आउनु पक्कै पनि पर्यटन प्रवद्र्धनको हिसाबले राम्रो हो । तर, नेपाली फिल्म र कलाकारहरुबारे कहिल्यै गम्भिर नभएको सरकार पुरै राज्य संयन्त्र लागि ठूलो धनराशी लिएर गरिने उनको व्यवसायिक भ्रमणबारे ज्यादै गम्भिर भएको देख्दा ताज्ुब लाग्यो । पाहुनलाई स्वागत छ, तर नेपाली फिल्मका विविध समस्याबारे पनि गम्भिर बनिदिनुपर्यो सरकार ।’

नेपाल सरकारले नेपाली फिल्मका लागि गम्भिर भएर लागेको देखिदैन । तर, यतिबेला महंगो रकम लिएर नेपाल आउन लागेका सलमानका लागि नेपाल सरकार नै लागिपरेको छ ।