‘पीर’बारे प्रकाशः राजनीतिक पूर्वाग्रहदेखि भिडियो परिवर्तनसम्म

गायक प्रकाश सपुतले आफ्नो हिट गीत ‘पीर’को सफलतापछि पत्रकारहरुसँग कुरा गर्दै भिडियो विवादबारे स्पष्टिकरण दिएका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भिडियो हटाउनुको कारण कसैको दबाब नभएको बताए । उनले भने–‘मैले कसैको दबाबमा आएर भिडियो हटाएको होइन । मैले, जसको बारेमा भिडियोमा देखाएको छु उहाँहरुलाई नै देहव्यापारको दृश्यले असर पारेको भन्ने वुझेपछि केही सोच्न वाध्य भएको हुँ ।’

प्रकाशले यसलाई कुनै राजनीतिक पूर्वाग्रह भन्दा पनि एउटा कलाको रुपमा हेर्नुपर्ने बताए । अर्को एक प्रसंगमा प्रकाशले चुनावको छेउमा आएर भिडियो सार्वजनिक गर्नुलाई माओवादीप्रति नकारात्मक भावना पैदा गर्नका लागि नभएको बताए । भने–‘चुनावको बेलामा त हो हामीले जनप्रतिनिधीलाई प्रश्न गर्ने ? पानी, विजुली, बाटोको बिषयमा हामीले प्रश्न सोध्न सक्छौं भने यस्तो बिषयमा प्रश्न गर्न किन सक्दैनौं ?’

‘पिर’ गीत तयार पार्दा देह व्यापारको दृश्यले यो खालको आलोचना र चर्चा पाउला भनेर आफूहरुले नसोचेको उनको कथन थियो । प्रकाशले आफू सधै नै समाजको कथा भन्न रुचाउने भएकाले यसपटक भने त्यसै गरेको बताए । उनले भने–‘मैले, माओवादी पूर्व कमाण्डर जो पछि मन्त्री बनेको देखाइएको छ, उनको दृश्य हटाएको भए दबाबमा आएर हटाएको भनेर वुझ्न सकिने बताए । तर, आफूले हटाएको दृश्यलाई त्यसरी नवुझिदिन आग्रह गर्दछु ।’