वैशाख पहिलो साता लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने, आजबाटै दर्ता प्रक्रिया सुरु

आगामी ५/७ वैशाखमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा गोरखाको लाप्राकमा महोत्सव हुने भएको छ ।

चलचित्र विकास बोर्डको सहकार्यमा हुन लागेको महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका फिल्महरूलाई सहभागी गराइनेछ । बिहीबारबाटै फिल्मको दर्ता प्रक्रिया पनि सुरुवात भएको छ । महोत्सवमा सहभागी हुन चाहने फिल्म टिमले [email protected] मा इमेल गरेर सहभागीता जनाउन सक्नेछन् ।

पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष रघुनाथ सापकोटाले जनाएका छन् । महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका चलचित्र अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रदर्शन गरिएका फिल्मसँग सम्बन्धित फिल्मकर्मी तथा आमदर्शकबीच अन्तरक्रिया गरिने, गाउँले परिवेशमा फिल्म बनाउने विषयमा वर्कसप हुने र फिल्मकर्मीबीचमा ग्रामीण चलचित्रको कथा तथा मौलिक फिल्म निर्माणसम्बन्धी अन्तरक्रिया हुने र उत्कृष्ट फिल्मलाई जुरी टिमको निर्णयअनुसार अवार्ड प्रदान गरिने सापकोटाको भनाइ छ ।

कार्यक्रम गरिने क्षेत्र लाप्राकको सांस्कृतिक तथा त्यहाँको पर्यटकीय क्षेत्र समेट्ने विभिन्न प्रस्तुतिसमेत रहने जनाइएको छ । नेपाली मौलिक फिल्म, फिल्मकर्मी र स्थानीय पर्यटकीयस्थलको प्रचारप्रसार तथा प्रवर्द्धन गर्नु, नेपाली आमदर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, नेपाली समाजका मौलिकता बोकेका र ग्रामीण कथामा बनेका फिल्महरूलाई स्वदेशी तथा विदेशी दर्शकमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको उनले बताए ।

यस किसिमका महोत्सव तथा फिल्मसँग सम्बन्धित गतिविधि राजधानी काठमाडौँ तथा मुख्य सहरहरूमा मात्र हुने गरेको सन्दर्भमा ग्रामीण क्षेत्रमा हुने यस महोत्सवले स्थानीयबीच नेपाली फिल्म र फिल्मकर्मीप्रतिको चासो र माया बढ्ने, नियमित नेपाली फिल्म हेर्ने दर्शकको संख्या पनि बढ्ने विश्वास आयोजकको छ ।