गोपिकृष्णको ३ पर्दा भोलीबाट संचालनमा, फर्किएला त पुरानो क्रेज ?

भोली शुक्रबारदेखि काठमाडौंको गोपिकृष्ण मुभिजमा रहेका ३ पर्दा संचालनमा आउँदैछन् । विगत २ बर्षदेखि बन्द रहेको गोपिकृष्णका ३ हलहरु ओम, नमः र शिवाय संचालनमा ल्याउन लागिएको हो ।

गोपिकृष्ण मुभिजले ४ वटा पर्दा रहेको हल भत्काएर जीकेसीसीको अवधारण ल्याएको छ । सोही अनुरुप नयाँ भवन बनाउने क्रम पनि अगाडि चलिरहेको छ । तर, गोपिकृष्णमा फिल्म हेर्ने दर्शकको चाहनालाई मध्यनजर राख्दै भोलीबाट ‘चिसो एष्ट्रे, आरआरआर र द काश्फिर फाइल्स्’ फिल्म रिलिज गर्न लागिएको सार्वजनिक प्रेस विज्ञप्तीमा उल्लेख छ ।

आरजीबी अर्थात रातो, हरियो र निलो रंगमा ३ वटा हलको सिट तयार पारिएको छ । दर्शकले बिहान ८ बजेबाट बेलुकी ८ बजेसम्म दैनिक १२ शोजमा ३ सय रुपैयाँ टिकटमा फिल्म हेर्न पाउनेछन् । निर्देशक निरक पौडेलले सार्वजनिक गरेको विज्ञप्ती अनुसार, ३ वटा पर्दामा ५ सय सिट क्षमता छ ।

गोपिकृष्ण मुभिज दर्शकको सर्वाधिक भिड हुने स्थान हो । जहाँ, पुगेर कलाकारहरुले दर्शकसँग प्रत्यक्ष साक्षात्कार पनि गर्दै आएका थिए । तर, यसका संचालकले हल भत्काएर नयाँ भवन बनाउने निर्णय गरेसँगै अब दर्शकको सोही क्रेज हलमा फर्किन्छ या फर्किदैन भन्ने प्रश्न सबैको अगाडि छ ।

यसको जवाफ भोलीबाट रिलिज हुन लागेको ‘आरआरआर’बाट थाहा हुनेछ ।