बक्स अफिसमा किन चिप्लियो ‘चिसो एष्ट्रे’ ?

शुक्रबारदेखि रिलिज भएको नेपाली फिल्म ‘चिसो एष्ट्रे’ बक्स अफिसमा चिप्लिएको छ । आजबाट देशभरका मल्टिप्लेक्सले फिल्मको शोजमा कटौती गरेका छन् । शुक्रबार र शनिबार पनि फिल्मको व्यापार सन्तोषजनक छैन ।

दिन्स पाल्पालीको निर्देशनमा बनेको यो फिल्मले समीक्षकबाट त राम्रै प्रतिक्रिया पाएको हो । तर, नेपालमा दर्शकको स्वाद एउटा र समीक्षकको स्वाद अर्को हुँदा यस्तो अवस्था आउने गरेको छ ।

फिल्मको व्यापारले निर्माताको लाखौ रकम पानीमा गएको छ । योसँगै, निर्देशक दिन्स पाल्पालीको सपनाको प्रोजेक्ट पनि चिसै हुन पुगेको छ ।

यो फिल्मले काठमाडौंमा प्रवेश गरेको एउटा यूवाको कथा भन्छ । उक्त यूवासँग जोडिन आउने अन्य केही यूवा र ठमेलका गल्लीहरुमा उनीहरुले गर्ने क्रियाकलापमा फिल्म बनेको छ । तर, काठमाडौं छिरेका दिव्य देवको यात्रासँगै दर्शक बग्न सक्दैनन् । फिल्म ३ यूवाको वरिपरी अनावश्यक रुपमा घुमाइएको छ ।

गल्ली, उनीहरुको दैनिकी, चुरोट, चिया, रक्सी र गाँजाको कथा मात्र होइन काठमाण्डौं । फिल्मले देखाउन के खोजिरहेको छ भन्ने निर्देशकले भेउ नपाउँदा यो फिल्मसँग दर्शक जोडिन सकेनन् । दर्शकले पात्र भित्र आफूलाई नपाउँदा फिल्म नरुचाएको पक्का छ ।

फिल्मको प्राविधिक पाटोलाई विर्सन हुँदैन । निर्देशकले नयाँ शैलीमा फिल्म खिचेका छन् । तर, फिल्मको मुख्य पाटो त पटकथा नै हो । पटकथा, संवाद दुबै फितलो बन्दा दिन्स पाल्पालीको सपनाको प्रोजेक्ट बक्स अफिसमा छटपटिन पुगेको हो ।