निर्देशनबाट पछि हटिन् नीता

अभिनेत्री नीता ढुङ्गाना पछिल्लो समय फिल्म खेल्ने भन्दा पनि म्युजिक भिडियो निर्देशनमा व्यस्त छिन् । अभिनेता समेत रहेका ज्योतिष हरिहर अधिकारीसँग नजिकिएयता उनी म्युजिक भिडियो र टिभी शो निर्देशन सक्रिय बनेकी हुन् ।

हरिहरले सञ्चालन गर्ने हरिहर सो र उनकै अभिनय रहेको एक शिवस्तोत्र ‘जय जय नीलकण्ठ’ नीताले नै निर्देशन गरेकी थिइन् । अभिनय सँगै निर्देशकको दोहोरो जिम्मेवारी निर्वाह गर्न लागेकी नीताले निर्देशनबाट भने हात झिकेकी हुन् ।

केही समयअघि ‘ह्रस्व–दीर्घ’ सिनेमाको निर्देशन नीता आफैले गर्ने चर्चा पनि चलेको थियो । निर्माणमा हरिहरसँग सहकार्य गर्ने र निर्देशनमा डेब्यु गर्ने उनको तयारी थियो । उनले निर्देशकको जिम्मेवारी चन्द्र पन्तलाई सुम्पिएर अभिनयमा मात्र फोकस हुने भएकी छिन् । अब ‘ह्रस्व–दीर्घ’ चन्द्र पन्तले निर्देशन गर्ने भएका छन् । निर्माणसँगै अभिनय पनि रहने भएकाले उनले निर्देशनबाट आफुलाई अलग राख्ने निर्णय गरेकी छिन् ।

नीताले पन्तको निर्देशनमा एउटा भोजपुरी फिल्ममा काम गरेकी थिइन् । नीता निर्मात्री र अभिनयको जिम्मेवारीमा मात्रै सिमित रहन चाहेपछि फिल्म निर्देशनको जिम्मा चन्द्र पन्तले पाएका छन् । नीताको निर्मात्रीको रुपमा पहिलो फिल्म भएकाले उनले लगानीसँगै अभिनयमा मात्र केन्द्रित हुने निर्णय लिएकी छिन । यद्यपी, उनको लक्ष्य निर्देशन भए पनि अहिलेलाई त्यो थाती राखेकी छिन् ।

नीताले भने निर्देशनको निर्णय छलफल पश्चात लिने बताइन् । फिल्म भदौबाट छायांकनमा जाने भएकाले उनले फिल्म बारे धेरै कुरा गर्न चाहिनन् । ‘ह्रस्व–दीर्घ’ पहिलो प्रोजेक्ट भएकाले अहिले यसको स्क्रिप्ट र संगीतमा काम भइरहेको छ,’ नीताले भनिन् । यसै फिल्म निर्देशनका लागि रामजी लामिछाने, झरना थापा, सुदर्शन थापासम्मको नाम चर्चामा थियो ।