खराब समीक्षाले बक्स अफिसमा चिप्लियो ‘राधे श्याम’

भारतमा सर्वाधिक धेरै स्टारडम भएका नायकको रुपमा चर्चा गरिएका साउथ स्टार प्रभाषको नयाँ चलचित्र ‘राधे श्याम’ बक्स अफिसमा चिप्लिएको छ । चलचित्रको समीषा निक्कै नै खराब आएपछि दर्शकले यसलाई अस्विकार गरेका हुन् । जसकाकारण, चलचित्रले हिन्दी भाषामा शुक्रबार ५ करोडको मात्र ओपनिङ गर्न सक्यो ।

ऐतिहासिक प्रेमकथामा निर्माण भएको चलचित्रको कथावस्तुलाई आकर्षक तरिकाले बनाउन नसकेको, प्रभाष लभ स्टोरी चलचित्रमा खरो रुपमा उत्रिन नसकेको, भीएफएक्सको अनावश्यक प्रयोग गरेको भन्दै समीक्षकले यसको टिप्पणी गरेका छन् ।

नेपालमा पनि शुक्रबार र शनिबार सुखद ओपनिङ गरेको चलचित्र आइतबारबाट खस्किएको छ । मल्टिप्लेक्स हलहरुले अपेक्षित शो दिएपनि चलचित्रले आइतबारबाट कमजोर व्यापार गर्ने संकेत देखिएको छ । प्रभाष र पूजा हेग्डेको मुख्य भूमिका रहेको चलचित्रले साउथको बजारमा भने राम्रो ओपनिङ गरेको छ ।