‘साहो’पछि प्रभाषको अर्को खराब फिल्म ‘राधे श्याम’
चलचित्र ‘बाहुबली र बाहुबली २’मा काम गरेपछि विश्वभरका दर्शकको नजरमा परेका साउथका स्टार कलाकार प्रभाषले यसपछि भने राम्रा चलचित्र दिन सकेका छैनन् । जसकाकारण, भारतका हरेक भाषाका चलचित्र रुचाउने दर्शकको पहिलो रोजाइमा परेका भनिएका प्रभाषलाई समस्या परिरहेको छ ।
‘बाहुबली २’पछि प्रभाषले अभिनय गरेको चलचित्र ‘साहो’ले बक्स अफिसमा कुनै राम्रो व्यापार गरेन । बरु, उनले अभिनय गरेको यो चलचित्र बक्स अफिसमा असफल मात्र भएन समीक्षकको नजरमा पनि खराब साबित भयो ।
प्रभाषले नै अभिनय गरेका अर्को चलचित्र ‘राधे श्याम’ आजबाट विश्वभर रिलिज भएको छ । नायिका पूजा हेग्डेसँग प्रभाषले गरेको रोमान्सको यो कथालाई दर्शक र समीक्षकले खराब भनेका छन् ।
सामाजिक संजालमा चलचित्रलाई लिएर आएका अधिकांश प्रतिक्रिया खराब छन् । चलचित्रलाई अधिकांश भारतीय समीक्षकले १ देखि २ रेटिङ मात्र दिएका छन् । एउटा राम्रो कथालाई खराब तरिकाले प्रस्तुत गर्दा चलचित्र विग्रिएको उनीहरुको तर्क छ ।
यसले, प्रभाषको अर्को खराब चलचित्र दर्शकमाझ आएको पुष्टी भएको छ । नेपालमा पनि यो चलचित्र आजबाट रिलिज भएको छ । प्रभाषको लोकप्रियताको कारण २ दिन यो चलचित्रले राम्रै व्यापार गर्न सक्छ । तर, आइतबारबाट भने चलचित्रको व्यापारले वितरकको निन्द्रा नै खलबलाउने देखिन्छ ।
प्रतिक्रिया