पूर्व मिस युक्रेनले छोडिन् देश

पूर्व मिस युक्रेन देश छोड्न बाध्य भएकी छिन् ।

रुसले युक्रेनमाथि हमला गरेको बुधवार १४ दिन पुगेको छ । युद्धबाट जोगिन लाखौं युक्रेनी नागरिकहरुले आफ्नो देश छोडेका छन् । यसैक्रममा पूर्व मिस युक्रेन भेरोनिका डिडुसेन्को आफ्नो सात वर्षीय छोरा सहित जबरजस्ती युक्रेन छोड्न बाध्य भएकी छिन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार भेरोनिकाको घर वरीपरी युद्धको साइरन बज्न थालेपछि उनी र उनका छोरा केही समय घरमै लुकेर बसे तर केही सीप नलागेपछि देश छोड्न बाध्य भएकी हुन् । सन् २०१८ मा उनी मिस युक्रेन बनेकी थिइन् ।

उनले युद्धको साइरन बज्न थालेपछि आफू आफ्नो छोरालाई लिएर निकै धेरै घण्टा हिडेर युक्रेनको बोर्डरसम्म पुगेको अमेरिकाको लस एञ्जल्समा आयोजित पत्रकार सम्मेलनमा बताएकी छिन् । भेरोनिकाले रुसले आक्रमण गर्न थालेपछि युक्रेनका जनताको अवस्था निकै दयनीय भएको भन्दै सहयोगको लागि विश्वको ध्यानाकर्षण समेत गराएकी छिन् ।

उनले आफूले बाध्यताबस आफ्नो देश छोड्नु परेको पनि बताएकी छिन् । उनी १८ वर्षको उमेरमा मोडलिङ क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनले विश्व जगतमा युक्रेनको अवस्था हेरेर सहयोग गर्न ध्यानाकर्षण गराएपछि उनको चर्चा चुलिएको छ । भेरोनिका आफ्नो सात वर्षीय छोरालाई लिएर जेनेभा गएकी हुन् ।

लस एन्जलसमा आयोजित पत्रकार सम्मेलनमा उनले भिसा नपाएका कारण छोरालाई अमेरिका लैजान नसकेको बताएकी छिन् । आफू जेनेभा फर्किएर छोरालाई भेट्ने पनि उनले बताएकी छिन् । – एजेन्सी